२९ श्रावण २०७७, बिहीबार
  • ज्योति कुमार पन्थी

बर्दिया, २९ साउन । समुदायमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि बर्दियामा जारी निषेधाज्ञा थप ३ दिन बढाइएको छ । बिहीबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले समुदाय स्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न साउन गते सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

यसअघि ५ दिन कायम गरिएको निशेधाज्ञा बिहीबार पुनः बढाईएको हो । जिल्ला स्तरमा बैंक कर्मचारी, जनप्रतिनिधि लगायत थुनुवामा समेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले साउन २५ देखी २९ गते मध्यरात सम्म जिल्लाभरी निषेधाज्ञा जारी गरेको थियो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको संयोजकत्वमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निशेषाज्ञालाई ३ दिन थप गरि साउन ३२ गते मध्यरात सम्म बढाउने निर्णण गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहले जानकारी दिनु भयो ।

बैठकले मुक्तिनाथ विकास बैंक गुलरिया र सिटिजन्स् बैंक बढैया तालका केही कर्मचारीमा कोरोना देखिएकोले दुबै बैंकमा कार्यरत सबै कर्मचारीहरुको तत्काल पीसीआर परिक्षण गराउने र त्यसको नतिजा प्राप्त नहुँदा सम्म सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

त्यस्तै हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज समेत आआफ्नै घरभित्र रही स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन अनुरोध गर्ने निर्णय भएको छ ।

निषेधाज्ञा जारी गरिएको ५ दिनको अवधिमा १ हजार ३ सय ८७ जनाको स्वाब नमुना परीक्षण गरिएको छ । जसमध्ये ६ सय ६० जनाको नतिजा आउन बाँकी छ । बर्दियामा पीसीआर विधिबाट ७ हजार ८७ र आरडीटीबाट १३ हजार ४७ गरी २० हजार १ सय ३४ जनाको कोभिड परीक्षण भएको छ । जसमा २ सय ६९ जनाको नतिजा पोजिटिभ आएको छ ।

जनस्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार बर्दियामा २ सय ३२ जनाले कोरोना जितेका छन् । सक्रिय संक्रमित ३७ जना विभिन्न आइसोलेसनमा छन्। पछिल्लो समय पीसीआर परीक्षणलाई जिल्लामा तीव्रता दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV