२९ श्रावण २०७७, बिहीबार

काठमाडौं, २९ साउन । कोरोनाभाइरस संक्रमित संख्या वृद्धि भएपछि काठमाडौं भित्रिने र बाहिरिनेका लागि दिइने पास पूर्ण रूपमा बन्द गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपत्यकाबाट बाहिरिने र भित्रने सवारी पास अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरेको जानकारी दिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले कार्यालयबाट दिँइदै आएको पास पूर्ण रूपमा बन्द गरिएको बताउनुभयाे । अब काठमाडौं आउन र काठमाडाैंबाट बाहिरी जिल्ला जान पाइने छैन ।

कोरोना संक्रमण फैलँदै गएपछि गृह मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी पास वितरण बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई बुधबार पत्राचार गरेको थियाे ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार बुधबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ७ हजार ६१३ रहेको छ भने निको हुनेको संख्या १६ हजार ७२८ पुगेको छ । हालसम्म कोरोनाका कारण ९३ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV