२९ श्रावण २०७७, बिहीबार
  • बसन्त खतिवडा

बारा, २९ साउन । बारामा बन्न लागेको दोस्रो अन्तराष्ट्रिय विमानस्थल क्षेत्रभित्र रहेका रुख विरुवाको गणना शुरु भएको छ । विमानस्थल निमार्ण गर्दा ठूलो संख्यामा रुख काटिने हल्ला र विवादलाई चिर्न भन्दै वन मन्त्रालयले रुख विरुवाको एकिन तथ्याङ्क निकाल्न लागेको हो ।

विमानस्थल निर्माण स्थालमा चर्चेको करिव ८ हजार हेक्टरमध्य अहिले १९ सय हेक्टर क्षेत्रको गणना गर्न डभिजन वन कार्यालय बारालाई पत्राचार गरेपछि रुखको गणना र ट्याग गर्ने कार्य शुरु गरेको हो । सरकारले विमानस्थल निमार्णको लागि ८ हजार ४५ हेक्टर भुभाग चर्चेको छ, जसमध्ये वन कार्यालय बाराले जिपिएस प्रणाली मार्फत पहिलो चरणमा १९ सय हेक्टरभित्र रहेका रुखहरुको गणना गरिरहेको छ ।

१९ सय हेक्टर वन क्षेत्रलाई १२ क्लष्टरमा विभाजन गरी कार्य थालनी गरेको डिभिजन वन कार्यालय बाराले जनाएको छ । पहिलो क्लष्टरको गणना गर्ने कार्य सकिएको छ । पहिलो क्लष्टरको करिव ९८ हेक्टर क्षेत्रफलमा गणना सकिँदा २७ हजार ५ सय ३३ को संख्यामा पोल र रुख रहेको गणनामा खटिएका वन प्राविधिक दिवस चन्दले बताउनुभयाे ।

‘अहिलेसम्म ३० हजार ६ सय पोल र रुखहरुमा नम्बर प्लेट लगाइसकेका छौँ, जसमध्ये अधिकाशं साल प्रजातीका रुखहरु छन् । वन प्राविधिक सहित १७ जनाको टोलिले करिव एक महिनादेखि रुखको गणना गर्ने कार्य गर्दै आइरहेको छ,’ चन्दले बताउनुभयाे, ‘३२ सेन्टिमिटर भन्दामाथि गोलाई भएको सबै बिरुवाको गणना गरेका छौँ । गोलाई ३२ सेन्टिमिटर भन्दा तल भएको सबै बिरुवा लाथ्रामा गनिन्छ ।’

चन्दका अनुसार प्राविधिक रुपमा ३२ देखि ९४ सेन्टिमिटर गोलाई भएको बिरुवालाई पोल र गोलाईको भाग ९४ सेन्टिमिटर भन्दा माथि भएकालाई रुखको रुपमा गणना गरिएको छ । दोस्रो अन्तराष्ट्रिय बिमानस्थल निमार्णको काम अगाडि बढाउन मन्त्रीपरिषद्ले निर्णय गरेमा रुख र पोलको संख्या यकिन गर्न यो तथ्याकं काम लाग्ने डिभिजन वन कार्यालय बाराले जनाएको छ ।

रुख र पोलको सख्या कति छ भनेर प्रमाणित गर्न गणना शुरु गरिएकाे उहाँले बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘यसको मुख्य उद्देश्य प्रस्तावित दोस्रो अन्तराष्ट्रिय विमानस्थल क्षेत्रमा २४/२५ लाख रुखहरु काटिने भनेर गलत प्रचार भएकोले वास्तवमै यो क्षेत्रभित्र रुख र पोलको सख्या कति छ भनेर प्रमाणित गर्न गणना शुरु गरिएको हो ।’

विमानस्थलको विषय सर्वोच्च अदालतमा विचाराधिन भएकोले भोलि अदालतले पनि रुख र पोलको सख्या कति छ भनेर तथ्याकं मागेमा त्यसका लागि यकिन तथ्याकं दिन काम लाग्ने डिभिजन वन कार्यालयका प्रमुख मंजुर अहमतले बताउनुभयाे ।

यस अघि विमानस्थल निर्माण क्षेत्रलाई तारवार लगाउने सम्पन्न भइसकेको छ भने पश्चिम तर्फको पसाह खोलामा तटबन्दको कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV