२९ श्रावण २०७७, बिहीबार

एजेन्सी, २९ साउन । फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अन्तिम समयमा नाटकीय ‘कमब्याक’ गर्दै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको हो ।

बुधबार लिस्बनमा भएको पहिलो क्वाटरफाइनलमा हारनजिक पुगेको पीएसजीले अन्तिम समयमा ३ मिनेटमा दुई गोल गर्दै एटलान्टालाई २-१ गोल अन्तरले पराजित गरी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।

मारियो पासालीचले एटलान्टालाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर अन्तिममा ३ मिनेटको अन्तरमा मार्किन्हस र चुपो मोटीङले गोल गरेपछि पीएसजी इतिहासमा दोस्रो पटक च्याम्पियन्स लिगको सेमिफाइनल प्रवेश गर्न सफल भयाे ।

खेलको २६ औं मिनेटमा मारियो पासलीचको गोल गर्दै एटलान्टालाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १-० ले पछि परेको पीएसजीले दोस्रो हाफको एटलान्टालाई दबाबमा राखे पनि गोल गर्नको लागि अन्तिम समय नै कुर्न पर्यो । पीएसजीले ९० औं मिनेटमा बराबरी गोल फर्कायो । पीएसजीका लागि मार्किन्हसले गोल गरे । चुप मोटीङको क्रसमा नेयमारको प्रहार डिफेन्डरले रोकेपनि मार्किन्हसले बललाई पोस्ट पार गराएका थिए ।

इन्ज्युरी समयको तेस्रो मिनेटमा पीएसजीले विजयी गोल गर्यो । नेयमारको पासमा एमबाप्पेले अफसाइड ट्रयाप बिट गर्दै दिएको पासलाई चुपो मोटीङले गोल गरेपछि पीएसजीले सेमिफाइनलमा स्थान पक्का गर्यो ।

अब फाइनल प्रवेशका निम्ति पीएसजीले एटलेटिको म्याड्रिड र आरबी लाइप्जिगबीच खेलको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV