शवको अन्त्येष्टि गरेपछि संक्रमण पुष्टि ! संवेदनशील विषयमा लापरवाही बढ्दै (भिडियो)



प्रकाशित मिति : Aug 12, 2020
  • रिया भण्डारी,

काठमाडौं, २८ साउन । नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका अधिकांशको मृत्युपछि मात्र संक्रमण पुष्टि हुने गरेको छ ।

कोरोनाबाट मृत्युभएको पहिलो घटना सिन्धुपाल्चोककी सुत्केरीदेखी बाँके, रुपन्देही, धादिङ, चितवन लगायतका जिल्लाका केही मृतकको पनि मृत्यु पछि मात्रै कोरोना पुष्टि भएको छ ।

मापदण्ड अनुसार कोरोनाको परिक्षण रिपोर्ट नआएसम्म शब अन्त्येष्टि गर्न मिल्दैन । कोरोनाबाट मृत्यु भएका व्यक्तिको शब छुन पनि मिल्दैन ।

गत साउन २२ गते पूर्व मन्त्री मोहनबहादुर बस्नेतका ८४ वर्षीय बाबु खड्गबहादुर बस्नेतको त्रिवि शिक्षण अस्पतालमा निधन भयो । मृगौलाले काम नगरेर निधन भएको अस्पतालले बताएपछि शब अन्त्येष्टीका लागि सिन्धुपाल्चोक बाह्रबिसे लगियो ।

शब दाहसंस्कार सकेको ५ दिन पछि कोरोना परीक्षणको पीसीआर रिपोर्ट आयो । अस्पतालले शब लैजानु भनेको कारण शब लगेर दाह संस्कार गरिएको आफन्तको भनाइ छ ।

रिपोर्ट नै नआउँदै शब दिएको बारे स्वास्थ्य मन्त्रालय भन्छ–मृत्यु हुनु अगाडिको रिपोर्ट नेगेटिभ आएको आधारमा अस्पतालले शब् बुझाएको हुनसक्छ ।

मन्त्रालयले हल्का जवाफ दिएको छ, मृत्यु भइसकेको व्यक्तिबाट कोरोना संक्रमण फैलिन सम्भावना कम हुन्छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मृत व्यक्तिले हाछ्यु नगर्ने, नखोक्ने भएकाले कोरोना सर्ने सम्भावना कम हुने र सुरक्षा अपनाएर आफन्तले शब् लगेर अन्त्येष्टि गर्न सक्ने बताउँछन् ।

कोरोना पुष्टि भएको रिपोर्ट आएपछि दाहसंस्कारमा गएका नातागोता, आफन्त र शुभचिन्तक पनि अन्योलमा परेका छन् । दाहसंस्कारमा करिब १५ सय जना सहभागी भएका थिए । स्थानीय निकायले कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलनको कार्य अगाडि बढाएको छ ।

पहिलो पटक कोरोनाबाट मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीको पनि मृत्युपछि कोरोना पुष्टि भएको थियो । नेपालमा कोरोनाबाट मृत्युभएका ७० प्रतिशतको मृत्युपछि कोरोना पुष्टि हुने गरेको छ ।

कोरोना भाइरसका कारण मृत्यु भएका व्यक्तिबाट थप संक्रमण हुनबाट जोगिन बनाइएको सरकारको कार्यविधि यस्तो छः

–भाइरसका कारण मृत्यु भएका व्यक्तिको शव छुन पाइदैन ।

–मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइ कम्तीमा एक मिटर टाढा रहनुपर्छ ।

–शवलाई अस्पताल वा घरबाट अन्तिम संस्कार गर्न लैजाने क्रममा पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई प्रयोग गर्नुपर्छ ।

सरकार मापदण्ड बनाउने तर, सरकारकै प्रवक्ताले मृत्यु भइसकेका संक्रमितबाट संक्रमण नसर्ने हल्लाको जवाफ दिंदा आम नागरिक अन्योलमा पर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com