रासायनिक मलमा खुलेआम कालोबजारी, किसान मारमा



प्रकाशित मिति : Aug 12, 2020
  • अभिमन्यू लामिछाने,

उदयपुर, २८ साउन । उदयपुरका किसानहरुलाई रासायनिक मलको अभाव भएको छ । मल अभावका कारण रोपेको धान पनि नफल्ने हो कि भन्ने चिन्ताले किसानहरुलाई पिरोलेको छ ।

उपलब्ध मलसमेत निर्धारित मूल्यभन्दा तेब्बर मूल्यमा खुलेआम विक्री वितरण भइरहेको किसानहरुको गुनासो छ । धानमा हाल्ने यूरिया मलको मुख्य बिक्रेता कृषि सामग्री कम्पनी लिमिटेड गाइघाटले समेत मल सकिएको जनाएको छ ।

कृषि सामग्रीमा मल सकिएपछि स्थानीय बजारमा बजार मूल्य भन्दा तेब्बर मूल्यमा मल किन्नुपर्ने बाध्याता रहेको उदयपुर कटारी नगरपालिका–२ का किसान पन्नालाल अधिकारीले बताइ ।

प्रहरीकै मिलोमतोे अबैध मल भित्रिने गरेको स्थानीयको आरोप छ । कटारी बजारमा रासायनिक मलको अभाव भएसँगै अहिले कालोबजारी गर्ने गिरोहले भारतदेखि आउने अबैध मल खुलेआम तेब्बर मूल्यमा बिक्री गरिरहेको किसानहरुको भनाइ छ ।

कटारी बजारमा खुलेआम तेब्बर मूल्यमा बिक्री हुँदा समेत प्रशासनसमेत मौन बस्नु शंकास्पद रहेको उदयपुर जिल्ला कृषक महासंघका अध्यक्ष कुशल राउतले बताए ।

सरकारले डीएपी प्रति ५० किलोको बोराको मूल्य दुई हजार १८८, युरिया ७३८ रुपैयाँ, पोटास एक हजार ५८८ तोकेको भएपनि अहिले किसानलाई आवश्यक पर्ने यूरिया मल कटारी बजारमै ३ हजार रुपैयाँमा खुलेआम बिक्री भइरहेको छ ।

जिल्लामा १४ हजार ७ सय ५० हेक्टर जमिनमा धान खेती गरिएको कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com