२८ श्रावण २०७७, बुधबार
  • राजु पौडेल

झापा, २८ साउन । झापाको मेचीनगर–७ मा निर्माण सुरु गरिएको ‘आदिकवि भानुभक्त आचार्य पार्क’ विवादित बनेको छ । नगरपालिकाले बिना योजना आफुखुसी निर्माण समिती बनाएर बजेट सक्न इट्टाको पर्खाल लगाएको भन्दै स्थानीय रुष्ट बनेका छन् ।

झापाको मेचीनगर–७ स्थित तल्लो भानु टोलमा पर्ने चियाबगाननजिकै मेचीनगर नगरपालिकाले आदिकवि भानुभक्त आचार्य पार्क निर्माण गर्ने भन्दै गत असार ९ गतेबाट इँटाको पर्खाल लगाउन सुरु गरेको थियो । बर्षौँदेखी भोगचलन गर्दै आएको ऐलानी जग्गामा अचानक डोजर चल्न थालेपछि स्थानीय आश्चर्यमा परे । ऐलानी जग्गासँगै आफ्नो नम्बरी जग्गा समेत मिचेर नगरपालिकाले पार्क बनाउन भन्दै पर्खाल उठाउन थालेपछि स्थानीय भने रुष्ट बनेका छन् ।

पार्क निर्माणस्थल मेचीनगर वडा नम्बर ६ र ७ को सिमाक्षेत्रमा पर्ने भएकाले निर्माण समिति ६ बाट मात्रै बनेपछि मिलेमत्तोमा काम भएको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । ‘बर्षौंदेखि हामीले भोगचलन गरेको जमिन पनि नगरपालिकाले हस्तक्षेप ग¥यो’ स्थानीय धनकुमार श्रेष्ठले भने, ‘७ नम्बरमा पार्क बनाउने भनेको छ, सबै समितिका मान्छे ६ का छन्, बजेट सक्न उठाएको पर्खाल पनि भत्काएर फेरि बनाएको छ ।’

हुन पनि सुरुवातमा ९ लाख रुपैयाँ लागतमा सो ठाउँमा इँटाको पर्खाल उठाउने काम सुरु भएको थियो । आर्थिक वर्ष सकिन लागेका कारण असार २५ भित्रै पर्खाल उठाइसक्ने तयारी अनुसार निर्माण समितिले पार्क क्षेत्रभरि ५ फुटे पर्खाल निर्माण गरिसकेको थियो । तर, मजबुत नहुने भन्दै नगरपालिकाकाले १० फुटे पर्खाल लगाउन भनेपछि करिब ३ बिघा क्षेत्रमा एकतर्फी लगाइसकिएको पर्खाल भत्काइएको थियो । ‘निर्माण कार्यको ३० प्रतिशत पनि काम नसकिदै पहिलो चरणको ९ लाख रुपैयाँ बजेट सके’ स्थानीय फणिन्द्र घिमिरेले भने, ‘फेरि ११ लाख रुपैयाँ खर्च भएको छ तर यो पार्कको विस्तृत योजना नबनाई काम भएको छ ।’

लगाईएको पर्खाल भत्काएर पुनः निर्माण गर्दा ११ लाख रुपैयाँ खर्च भएको छ । तर, निर्माण कार्य गुणस्तरहीन र कुनै अनियमितता नभएको निर्माण समितीका अध्यक्ष राजकुमार पराजुली बताउँछन् । ‘९ लाखले वालका लागि सिमेन्टीको ढलान गरियो’ समितिका अध्यक्ष पराजुलीले भने, ‘दोस्रोपटक इट्टाको वाल लगाउँदा ११ लाख खर्च भएको हो, एक पैसाको हिनामिना भएको छैन ।’

पार्क ६ र ७ को सिमा क्षेत्रमा पर्ने भएपनि निर्माण कार्य बारे मेचीनगर वडा नम्बर ७ का जनप्रतिनिधी अनिविज्ञता प्रकट गर्छन् । पर्खाल निर्माणमा स्थानीयले विरोध जनाएपछि निर्माण हुन लागेको पार्कको काम रोक्न भनेपनि आफुहरुलाई समितीले नटेरेको वडा नम्बर ७ का अध्यक्ष चन्दन मेचेको भनाई छ ।

पार्क निर्माणका लागि अलग्गै बजेट विनियोजनको तयारीमा नगरपालिका छ । तर नगरपालिकासँग पार्क निर्माण योजनाबारे पूर्ण विवरण नै छैन । करिब ६ बिघा ७ कठ्ठा जमिनमा बनाउन लागिएको भनिएको पार्कको एकतर्फी २ सय १ मिटर मात्रै पर्खाल उठाइएको छ । सो क्षेत्रमा झण्डै ५ बिघा जमिन ऐलानी पर्ने भएपनि बाँकी जमिन स्थानीय राज टी इस्टेटका नाममा रहेको छ । मेचीनगरका प्रमुख विमल आचार्यले ऐलानी जमिन संरक्षण गरेर पार्क निर्माणको काम अघि बढाइएकोले विरोध गर्नुको कुनै औचित्य नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV