२८ श्रावण २०७७, बुधबार
  • बाल बिक्रम कार्की

रौतहट, २८ साउन । चन्द्रपुर सरकारी अस्पतालमा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत मात्रिका चालिसे कोरोनाको कहर सुरु भएपछि निरन्तर यसको विरुद्धमा अग्रभागमा रहेर काम गर्दै आएका छन् ।

नेपाल सरकारले कोरोनाको संक्रमण फैलिन नदिन २०७६ चैत्र ११ गतेदेखि लकडाउन ग¥योे र विदेशबाट फर्कनेहरुलाई अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनायो । सोही अनुसार जिल्लाका चन्द्रपुर, गढीमाइ, गुजरा र वृन्दावन नगरपालिकाले संयुक्त रुपमा चन्द्रपुर नगरपालिका वडा नम्बर ६ मा रहेको एन्फाको महिला एकेडेमी भवनलाई क्वारेन्टाइनको रुपमा संचालनमा ल्याए ।

चैत्र १२ गतेदेखि संचालनमा आएको सो क्वारेन्टाइनको व्यवस्थापनको जिम्मा ३२ वर्ष स्वास्थ्य सेवाको अनुभव बटुलिसकेका चालिसेको काँधमा आइप¥यो । कोरोना भाइरस भन्ने बित्तिकै सबैतिर हाहाकार र डराउने अवस्थामा उनी निष्फिक्री भएर यस विरुद्ध लड्न तयार भए । सो क्वारेन्टाइनमा जिल्लाका चन्द्रपुर, गुजरा, गढीमाइ र वृन्दावन नगरपालिकाका भारतबाट आएकाहरुलाई राख्न सुरु गरियो । चालिसेले यसरी भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा व्यवस्थापन, औषधि उपचार र मनोपरामर्शमा आफुलाई व्यस्त गराउन थाले ।

कामको सुरुवातमा मनमा डर लागेपनि स्वास्थ्यकर्मी नै रोगसँग डराएर पछि हट्यो भने अन्य सर्वसाधरणमा के असर पर्ला भनेर आफु हिम्मतले अगाडि बढेको उनले सुनाए । सुरुसुरुमा क्वारेन्टाइन र आइसोलेसनमा काम गर्न थाल्दा घरपरिवारहरु पनि डराए पनि अहिले भने उनीहरु पनि डराउन छाडेको चालिसे बताउँछन् । उनी भन्छन् , ‘सुरुमा कोरोना भाइरसको सबैमा डर थियो , मलाई पनि डरडरनै लाग्यो । तर पछि काम गर्दै गइसकेपछि यसमै रमाउन थाले । अब त केही जस्तो पनि लाग्दैन् ।’

सुरुसुरुमा छिमेकीहरुले डराएर गाँउमै नआएजस्तो हुने व्यवहार प्रदर्शन गरेपनि अहिले सबैले बुझ्न थालेपछि राम्रो काम गर्दै हुनुहुन्छ भन्दै बधाई दिने गरेको उनको अनुभव छ । उनी दिनभरको आफ्नो ड्युटी सकेर घर फर्कदा सम्पूर्ण कपडा घर बाहिरै खोलेर नुहाएर मात्र घरमा पस्ने गरेका छन् । यदि आफु संक्रमित भइहाले पनि अरुमा संक्रमण नसरोस् भन्नेमा उनी पूर्ण रुपमा सचेत रहेका छन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढेसँगै आइसोलेसनको अभाव हुन थालेपछि सोही क्वारेन्टाइनलाई अस्थायी आइसोलेसन बनाएर संक्रमितको उपचार सुरु गरियो । क्वारेन्टाइन व्यवस्थापनमा खटिएका चालिसे अब कोरोना संक्रमितको उपचार गर्न पनि अघि सरे ।

हाल चन्द्रपुर, गुजरा, गढीमाइ र वृन्दावन नगरपालिकाका कोरोना संक्रमितहरुलाई चन्द्रपुर २ मा रहेको अस्थायी कोरोना अस्पतालमा उपचार हुने गरेको छ । संक्रमितहरुलाई देखिएको लक्षणहरुको आधारमा औषधी दिएर उपचार गर्ने गरेको बताउँदै उनले रोगलाई जित्न सबैभन्दा बढी उच्च मनोवल चाहिने हुँदा आफुहरुले संक्रमितहरुको मनोवल बढाउन पनि विभिन्न मनोपरामर्श उपायहरु अपनाउने गरेको जानकारी दिए ।

क्वारेन्टाइन र आइसोलेसन व्यवस्थापनमा मात्र होइन चालिसे यी स्थानमा बसेकाहरुको स्वाव संकलन गरेर परिक्षणको लागि हेटौडा÷बिरगंज पनि आफैले लैजाने गरेका छन् । त्यतिमात्र होइन उनी संक्रमण पुष्टि भएका र विदेशबाट आएर सिमानाका वा होल्डिङ्ग सेन्टरमा बसेकाहरु लिन पनि आफैँ जाने गरेका छन् ।

पाका उमेरकालाई कोरोना संक्रमणको जोखिम उच्च रहेपछि ५७ वर्षिय चालिसे प्रत्यक्ष रुपमा कोरोना संक्रमितको उपचारमा निशंकोच खटिरहेका छन् । उनी आफैँ आइसोलेसन र क्वारेन्टाइनभित्र जान्छन् र संक्रमितहरुलाईको हालखबर सोधेर केही स्वास्थ्य समस्या भए औषधी दिएर फर्कन्छन् । उनी आफु संक्रमित हुन्छु कि भन्दापनि आफुलाई दिइएको जिम्मेवारी इमान्दारी पूर्वक वहन गर्नुपर्छ भन्ने कुरामानै आफ्नो ध्यान केन्द्रित हुने गरेको बताउँछन् ।

स्वास्थ्यकर्मीको नाताले उनी कोरोना भाइरसबाट डराउने भन्दापनि सचेत र सचज हुनुपर्ने र उचित खानपान तथा व्यवहारले आफ्नो रोग प्रतिरोधात्मक क्षमता बढाउनुपर्ने सुझाउँछन् । कोरोना संक्रमितहरु संक्रमणमुक्त भएर आइसोलेनबाट घर फर्किएको क्षण आफ्नोलागि सबैभन्दा खुसीको क्षण हुने गरेको उनी बताउँछन् ।

उनले क्वारेन्टाइन र आइसोलेसनमा काम गर्न थालेपछि अहिलेसम्म ६ पटक पिसिआर विधिबाट आफ्नो स्वाव परिक्षण गराइसकेका छन् र सबैपटक रिर्पोट नेगेटिभ आएको छ । ‘जति पटक मेरो रिर्पोट नेगेटिभ आउँछ , त्यतिपटक त्यतिपटक कोरोना विरुद्धको युद्धमा होमिन थप उर्जा मिल्छ’ उनले हौसिदै सुनाए, ‘आफु सचेत र सजक भयो भने यसबाट बाच्न सकिदो रहेछ । मेरो शरीरमा रोगप्रतिरोधात्मक शक्ति होउन्जेल म यसबाट जोगिन्छुँ भने पूर्ण विश्वास छ ।’ यदि तपाई आफै संक्रमित हुनुभयो भने के गर्नुहुन्छ भन्ने हाम्रो जिज्ञासामा उनी मुसुक्क मुस्काउँदै भन्छन् ,‘अलि दिन आइसोलेसनमा बस्छुँ , निको हुन्छु अनि फेरि बिरामीको सेवामा खटिरहन्छुँ ।’

यसरी आफ्नो ज्यानै जोखिममा राखेर कोरोना संक्रमितको उपचारमा दिनरात खटिरहने चालिलेजस्ता स्वास्थ्यकर्मीको विषयमा राज्यले पनि गम्भिर हुनुपर्ने स्थानियहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV