२७ श्रावण २०७७, मंगलवार

काठमाडौं, २७ साउन । मुलुकमा पछिल्ला दिनहरुमा संक्रमणमा देखिएको वृद्धिदरले नकारात्मक संकेत गरेको प्रष्ट देखिएको छ । स्थिति सामान्य बनाउन सरकार चुक्दा तराईका जिल्लाहरुमा मात्र नभइ देशको संघीय राजधानी समेत अछुतो रहन सकेन ।

सक्रमित दर उकालो लाग्दा अस्पतालमा आइसीयु र भेन्टिलेटरको सम्भावित संकट देखिदै गर्दा बेडको अभाव संक्रमितले भोग्न थालिसकेका छन् । स्वास्थ्य क्षेत्रमा यसैत कमजोर पूर्वाधार रहेको मुलुकमा संक्रमणको वृद्धिले यही रफ्तार समाते स्थिति भयावह बन्ने संकेत देखिएको सरोकारवाला सरकारी निकायहरुले नै स्वीकार्न थालेका छन् ।

गत असार १९ गते मुलुकमा एकै दिन ७ सय ४० जनामा संक्रमण देखिएको एक महिना ८ दिन पछि मंगलबार एकैपटक ६ सय ३८ जना संक्रमित फेला परे । संख्यात्मक हिसाबमा दुई ठूला घटनाको यसबीचमा धेरै संक्रमित थपिए ।

वितेको १५ दिनमा आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गराउनु पर्ने संक्रमित बढ्दै गर्दा अब सरकारको तयारी यता बढाउनु पर्ने अवस्था देखिएको छ । संक्रमितको संख्या मंगलबार २३ हजार छुन लाग्दा देशभर ३९ संक्रमितको अवस्था गम्भीर छ भने ४ जना भेन्टिलेटरमा छन् । यस्तै आइसीयुमा रहनेको संख्या देशभर ४ सय बढी रहेको छ ।

देशभर १२ सय आइसीयु र ६ सय ५० भेन्टिलेटर रहेको सरकारी दावी सरकारको छ । तर आइसीयु र भेन्टिलेटरको अभावमा मात्र नभइ वेड अभावमा नै संक्रमितले उपचारमा समस्या भोग्दै आएका छन् ।

मंगलबारसम्म बेड अभावमा होम आइसोलेसनमा बस्नेको संख्या २ सय २४ पुगेको छ भने होम आइसोलेसनमा बस्न प्रोत्साहित गर्दै सरकारले निर्देशिका र मापदण्ड नै जारी गरिसकेको छ ।

हिजो झिल्को लागेको ठाउँमा आज डढेलो लाग्न थालेको छ , तराईका जिल्लाहरुमा सल्किदो डढेलोले काठमाडौं उपत्यकालाई प्रभावको पञ्जामा कस्दै लगेको छ । मंगलबारमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानभक्त ढकालले रोक्न सके ३९ हजार तिर छेक्छौ नभए भदौ मसान्तसम्ममा संक्रमितको संख्या ९१ हजार पुग्ने अनुमान सार्वजनिकरुपमा व्यक्त गरिसक्नु भएको छ ।

कोरोना नियन्त्रणका लागि गठित सरकारी निकायहरुबीच नै समन्वयको अभाव देखिनु सबैभन्दा ठूलो दुर्भाग्यको पक्ष बनेको छ । महामारी नियन्त्रणका लागि कसले के गर्ने भन्ने जिम्मेवारी बाँडफाँड हुन नसक्दा मुख्य भूमिका खेल्न सक्ने स्थानीय तह अलमलमा छन ।

यता कोरोना नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्न फ्रन्टलाइनमा बसेर संघर्ष गरिरहेकाहरु नै संक्रमणको शिकार बन्दा समस्या थप डरलाग्दो बन्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV