२७ श्रावण २०७७, मंगलवार
  • रोसन दानी

काठमाडौं, २७ साउन । नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड गरेका छन् ।

मंगलबार परीक्षाको विकल्प देऊ भन्दै नाराबाजी गर्दै पुगेको नेविसंघ कार्यकर्ताले उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड र ढुंगामुढा गरेका हुन् ।

नेपाल बिद्यार्थी संघले त्रिभुवन बिश्व बिधालय इकाइ समितिले बिगतदेखिनै त्रिभुवन बिश्व बिधालयमा भएका नियुक्ती खारेजी ,ग्लोबल बैक टियु हाताभित्रबाट हटाउनुपर्ने र कोरोनाको कारण रोकियका परीक्षा दसै अगाबै आन्तरिक मुल्यांकन बाट गरि अर्को सेमेस्टरको पढाइ सुरु गर्नुपर्ने,नेवि संघ त्रिभुवन बिश्वविधालय समिति सचिव योगेन्द्र रावल माथी लगाईएको झुट्टा मुद्दा खारेज गर्नुपर्ने,माग राख्दै आएका थिए ।

नेविसंघ त्रिवि समितिका सभापति हरि आचार्यले विज्ञान संकायका विद्यार्थीले तोडफोड गरेका बताउनुभयो । परीक्षाको विकल्प दिनुपर्‍यो भन्दै हिजो रेक्टरलाई भेट्न गएका थिए, उहाँहरुले हामी विकल्प दिन सक्दैनौं भन्नुभयो’ उनले भने ‘आज गएर तोडफोड गरेछन् ।’

तोडफोडमा संलग्न भएको आशंमा प्रहरीले नेविसंघका ८ कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर रहेका नेविसंघ केन्द्रीय समितिले जनाएको छ ।

त्रिविले आवश्यक तयारी बिना परीक्षा तालिका सार्वजनिक गरेको र विकल्प नखोजी परीक्षा रद्द गरेकाले आक्रोशित विद्यार्थीले तोडफोड गरेको नेविसंघ आरआरका सचिव अनुराग शाहले जानकारी दिए ।

महामन्त्री दीपक भट्टराईले उनीहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

अनेरास्ववियूको विरोध

नेविसंघ कार्यकर्ताले गरेको तोडफोडको नेकपाको विद्यार्थी संगठन अनेरास्ववियूले विरोध जनाएको छ ।

नेविसंघ कार्यकर्ताले उपकुलपति कार्यालय तोडफोड गर्नुका साथै शिक्षा शास्त्र संकायको केन्द्रीय क्याम्पसमा विभागीय प्रमुखको कार्यकक्षमा प्रवेश गरी कम्प्युटर प्रिन्टरलगायत शैक्षिक सामग्री तोडफोड गरेको अनेरास्ववियुले जनाएको छ ।

जिम्मेवार भई विद्यार्थीहरुको हक हितको पक्षमा बोल्नुपर्नेमा विद्यार्थीका नियमित काम कारबाही अवरुद्ध गर्ने गरी तोडफोड र विभागीय प्रमुखलाई धम्क्याउने जस्ता अनैतिक र अराजक काम नगर्न अनेरास्ववियुले आग्रह गरेको छ ।

‘विश्वविद्यालयमा यस्ता अराजक, अमानवीय, असंवैधानिक गैरजिम्मेवारपूर्ण कार्यप्रति हाम्रो संगठनको त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटी घोर भर्त्सना गर्दछ’ अनेरास्ववियुको त्रि वि कमिटीका संयोजक लोकेन्द्र ऐरीले विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV