२७ श्रावण २०७७, मंगलवार

काठमाडौं, २७ साउन । प्रधानमन्त्रीको सचिवालयले ‘जनता समाजवादी पार्टी नेपाल’ले हालै जारी गरेको विज्ञप्तिको एक अंशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जसपाले निकालेको बिज्ञप्तिमा ‘केपी ओली सरकारको कुनै ठोस कार्ययोजना नरहेको र प्रधानमन्त्री शारिरीक र मानसिक दृष्टिले अत्यन्तै कमजोर’ रहेको भन्ने टिप्पणी खेदजनक भएको भन्दै प्रधानमन्त्रीको सचिवालयले एक बिज्ञप्ती जारी गरेकाे छ ।

सचिवालयले यो अंश अशिष्ट, पूर्वाग्रही टिप्पणी, अत्यन्त दुराशयपूर्ण र खेदजनक छ । बिज्ञप्तिमा भनिएको छ – ‘पटकपटक राज्यका जिम्मेवार तहमा रहिसकेका र प्रधानमन्त्रीको समेत ज़िम्मेदारी सम्हालिसकेका, अझ आफूलाई सुशिक्षित भनेर चिनाउन रूचाउनेहरू संलग्न दलबाट यस स्तरको तरिका खासमा कुण्ठाग्रस्त गालीगलोज मात्र हो । र, सोचको दिवालियापन नै हो ।’

जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठकपछि आइतबार जारी विज्ञप्तिमा ‘प्रधानमन्त्री ओली शारीरिक र मानसिक दृष्टिले अत्यन्तै कमजोर रहेको’ र ‘देशभित्र विभाजनको बीउ रोप्ने कार्य’ गरेको आरोप लगाइएको थियो । त्यसको २ दिनपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले बिज्ञप्ति जारी गर्नुभएको हो ।

‘राजनीतिमा विवाद, मतभेद र असहमतिहरू हुन्छन्, जसलाई स्वाभाविक नै मानिन्छ । त्यसै आधारमा यस स्तरको अपसंस्कारको प्रदर्शनबाट कहाँ पुगिन्छ भन्ने प्रश्न गर्दै सम्बन्धित व्यक्ति र पक्षहरूले नै हेक्का राख्नु श्रेयष्कर होला भन्ने आशाय व्यक्त गरिएको छ । सिद्धान्त, नीति र कार्यक्रममा बहस गर्न नसक्ने निरूपाय व्यक्तिहरू नै आफ्नो स्वार्थका रोटी सेक्न नपाउँदा ऑंखा चिम्लेर अँध्यारो देख्छन् र उज्यालोको भर्त्सनामा जुट्छन्’- बिज्ञप्तिमा भनिएको छ ।

बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

LIVE TV