२६ श्रावण २०७७, सोमबार

काठमाडौं, २६ साउन । दुई सातामा गहन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राखेर उपचार गराउने कोरोना सङ्क्रमितको संख्या चार गुणाले बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाभाइरस सङ्क्रमितको संख्या वृद्धि हुनुका साथै सघन उपचार आवश्यक हुने बिरामीको संख्या बढीरहेको हो ।

हाल ९३ जना कोरोनाभाइरस सङ्क्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । शरीरको मुख्य अङ्ग मुटु र फोक्सोको चालबारे जानकारी राख्न आईसीयूमा भर्ना गरिन्छ । शरीरमा कृत्रिम रुपले वायु सञ्चारको लागि भेन्टिलेटरको प्रयोग गरिन्छ ।

साउन १४ गते देशैभरि कुल २२ जना कोरोना सङ्क्रमित सघन उपचारका लागि आईसीयूमा भर्ना भएका थिए । साउन २४ गते सघन उपचारमा २४ जना थिए । पछिल्लो दश दिनमा उक्त संख्या ९३ पुगेको हो । साउन १४ गते १९ हजार २७३ जनामा सङ्क्रमणको पुष्टि भएको थियो । स्वास्थ्य विज्ञहरुका अनुसार दीर्घरोगी तथा वृद्ध उमेर समूहका व्यक्तिमा प्रतिरोध क्षमता कमजोर भएकोले सङ्क्रमित भएको अवस्थामा जोखिम बढी हुन्छन् ।

सुरुमा सङ्क्रमणको पुष्टि हुनेमा विदेशबाट फर्किनेहरु अधिकांश थिए । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा सङ्क्रमित हुने अधिकांश युवा उमेर समूहको रहेकाले सघन उपचारको आवश्यकता देखिएन । र मृत्युदर समेत निकै कम मापन गरिएको हो । तर पछिल्ला केही दिनमा वृद्ध र किशोर अवस्थाका व्यक्ति सङ्क्रमित हुन थालेपछि सघन उपचार गराउने बढ्दैछन् । परिणामस्वरुप मृत्यु हुने समेत बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV