२५ श्रावण २०७७, आईतवार
  • घनश्याम मिश्र,

जनकपुरधाम, २५ साउन । कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश २ सरकारले संघीय सरकारको ध्यानाकर्षण गराएको छ ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सामाजिक विकास मन्त्री नवल किशोर साह र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको टोलीले आज (आइतबार) उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर राय यादवसँग भेट गरी कोरोना रोकथामका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेको हो ।

छलफलका क्रममा वीरगञ्ज नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि तत्कालै ५ सय वेड क्षमताको आइसोलेसन वार्ड व्यवस्थापन गर्नेगरी संघीय सरकारबाट निर्णय गरिने उपप्रधानमन्त्री पोखरेलले प्रतिबद्धता जनाए ।

हालको अवस्थामा कोरोना संक्रमणबाट प्रदेश २ अति प्रभावित भइरहेकाले तत्काल विशेष प्याकेज घोषणा गर्न टोलीले संघ सरकारसँग आग्रह गरेको छ । तत्काल ५० हजार भीटीएम रिएजेन्टको उपलब्धता तथा पीसीआर परीक्षणका लागि २ वटा आरएनए मेसिन उपलब्ध गराउने बारेसमेत छलफल भएको छ ।

प्रदेश २ मा चिकित्सकहरुको विशेषज्ञ टोली तत्कालै पठाउनुपर्ने तथा सबै निजी अस्पतालहरुमा कम्तीमा २० प्रतिशत आइसोलेसन वेड उपलब्ध गराउन समेत ध्यानाकर्षण गराइएको छ ।

मुख्यमन्त्री राउतले प्रदेश नं. २ मा रहेका गम्भीर विरामीलाई तत्काल काठमाडौं ल्याउने गरी हेलिकप्टर स्टाण्डबाई राख्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV