२५ श्रावण २०७७, आईतवार
  • बाल बिक्रम कार्की,

रौतहट, २५ साउन । कारोना संक्रमण फैलिन नदिन भन्दै स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको दोस्रो दिन (आज) पनि रौतहट सुनसान बनेको छ ।

निषेधाज्ञाको कारण जिल्लाका पसल, कार्यालयहरु पूर्ण रुपमा बन्द रहेका छन्, भने सडक सुनसान बनेको छ । जिल्लामा स्वास्थ्य, विद्युत, दुरसंचार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय तथा सेवाहरु बन्द रहेका छन् ।

त्यसैगरी एम्बुलेन्स, शव बाहक, दमकल, झण्डावाल सवारी साधन, कुटनैतिक नम्बर प्लेटका सवारी साधन, खाद्यान्न, दूध, पानी ओसारपसारका सवारी साधन, लामो दूरीका मालसामान ढुवानीका साधन, अत्यावश्यक सेवा सञ्चालनका लागि खटिएका जनशक्तिले प्रयोग गर्ने सवारी साधन, सुरक्षा निकाय एवं प्रमुख जिल्ला अधिकारीका सवारी साधन तथा अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधन बाहेक अन्य सबै निजी, सार्वजनिक एवं सरकारी सवारी साधनहरु पनि सञ्चालनमा आएका छैनन् ।

मानिसहरु घरभित्रै रहेका छन् । घर बाहिर निस्किएकाहरुलाई प्रहरीले सम्झाइ–बुझाइ गरी घर फर्काइरहेको छ । तर, अटेर गर्नेलाई भने नियन्त्रणमा लिएर कारवाही गरिरहेको छ । यसैबीच शनिबार १५० जनालाई रौतहट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी प्रहरीले निषेधाज्ञाको उल्लंघन गर्ने १४४ वटा मोटरसाइकल, १९ वटा ट्रक, ७ वटा पिकअप तथा ट्याक्टरलाई नियन्त्रणमा लिएर कारवाही गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय, रौतहटले जिल्लाभित्र गौर, राजदेवी, चन्द्रपुरलगायतका नगरपालिकामा समुदायका केही व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण देखिएको अवस्थामा समुदायनै कोरोना संक्रमणको दृष्टिले जोखिमपूर्ण अवस्थामा रहेको भन्दै २४ गतेदेखि ३२ गतेसम्मको लागि निषेधआज्ञा जारी गरेको थियो ।

उक्त कार्यालयले जिल्लामा आम सर्वसाधारणहरुले जोखिमबाट जोगिन पूरा गर्नुपर्ने आधारभुत मापदण्डहरु पूरा नगरेको, भौतिक दूरी कायम नगरेको, मास्क नलगाएको तथा अन्य सावधानीसमेत अपनाएको भन्दै संक्रमणको जोखिम कम गर्न संक्रमण रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्लाभर निषेधाज्ञा जारी गरेको जनाएको छ ।

तर, स्थानीयले भने समुदायमा संक्रमण छ/छैन् भनेर थाहा पाउन जिल्लाका १८ वटै स्थानीय तहहरुमा कम्तीमा पनि ‘एक घर, एक पीसीआर’ गर्नुपर्ने माग गरेका छन् ।

    

प्रतिक्रिया दिनुहोस्

LIVE TV