२५ श्रावण २०७७, आईतवार

काठमाडौं, २४ साउन । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिको विषयलाई लिएर पछिल्लो पटक भारतीय पक्षबाट आएको भनाइको प्रतिवाद गर्दै विश्व नै जानकार रहेको विषयमा विवाद नझिक्न सचेत गराएको छ ।

आइतबार परराष्ट्र मन्त्रलायले एक विज्ञप्ती जारी भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमै कुनै विवाद र बहसको विषय नभएको बताएको छ ।

भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई ‘महान भारतीय’ भनेसँगै परराष्ट्र मन्त्रालयले औपचारिक प्रतिक्रिया सार्वजनिक गर्दै प्रष्ट पारेको हो ।

परराष्ट्र मन्त्रालयले भगवान बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका ऐतिहासिक र पूरातात्विक प्रमाणहरुबाट पूर्णरुपमा स्थापित र अकाट्य तथ्य भएको उल्लेख गरेको छ । त्यस्तै, भगवान बुद्धको जन्मस्थल तथा बुद्धधर्मको प्रादुर्भाव लुम्बिनी युनेस्कोको विश्व सम्पदास्थलमा समेत रहेको जनाएको छ ।

त्यसोत, २०१४ मा नेपाल भ्रमणका क्रममा नेपालको संसदलाई सम्वोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शान्तिदूत बुद्ध जन्मेको बताएका थिए । नेपालबाटै विश्वका अन्य भूभागहरुमा बुद्ध धर्मको फैलावट भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सिंगो विश्व समुदाय नै यस विषयमा जानकार रहेको पनि परराष्ट्र मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिद्वारा शनिबार आयोजित कन्फेडेरेसन अफ इण्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तक्र्रिरया कार्यक्रममा बोल्दै विदेशमन्त्री जयशंकरले संसारले सम्झिने दुई महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV