२५ श्रावण २०७७, आईतवार

काठमाडौं, २४ साउन । कोरोना भाइरस संक्रमणको जोखिम झन् बढ्न थालेपछि राष्ट्र बैंकले बैंकहरुलाई पुनः ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको छ ।

बैंकिङ क्षेत्रका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि राष्ट्र बैंकले पुनः ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको हो ।

आइतबार (आज)मात्रै उपत्यकास्थित एक बैंकका कर्मचारीमा कोरोना पुष्टि भएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई पालना गर्दै सेवा प्रवाहमा निरन्तरताको लागि विजनेस कम्युनिटी प्लान तयार गर्दै आवश्यकता अनुसार आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले सरकारले विभिन्न स्थानमा लागू गरेको लकडाउन, निषेधाज्ञा, सवारीसाधनको जोर/बिजोर प्रणालीलाई समेत मध्यनजर गर्दै पुनः ‘वर्क फ्रम होम’ व्यवस्था मिलाएर कार्यसम्पादन गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV