२५ श्रावण २०७७, आईतवार

नेपालगन्ज, २५ साउन । कोरोना संक्रमितका लागि बाँकेमा थ्रीस्टार लेभलको होटलमा आइसोलेसन बनाइएको छ। नेपालगन्जको धम्बोझी चोकमा रहेको होटल सिटी प्यालेसलाई आइसोलेसन बनाइएको हो। संक्रमितहरू एसी भएको कोठामा बस्न पाउँछन्।

‘जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र’को शुक्रबार बसेको बैठकले आफैंले पैसा तिरेर बस्न चाहने संक्रमितका लागि सुविधासम्पन्न होटललाई आइसोलेसन बनाउने निर्णय गरेको केन्द्रका संयोजक बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए। उनले भने, ‘पैसा तिरेर सुविधासम्पन्न रूपले बस्छु भन्नेका लागि होटलमा आइसोलेसन बनाइएको हो।’

अन्य आइसोलेसनमा खाने, बस्ने सम्पूर्ण व्यवस्था स्थानीय सरकारले गर्छ भने होटलमा बस्नेले सबै खर्च आफैें बेहोर्नु पर्छ। होटलमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको व्यवस्था भने केन्द्रले गर्नेछ। होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्यालले आइसोलेसनमा बसेका व्यक्तिबाट प्रतिदिन दुई हजार ५ सय रुपैयाँ लिइने बताए। शुक्रबारसम्म १३/१४ जनाले कोठा बुक गरिसकेको बताउँदै उनले भने, ‘एक सय ८५ सम्मलाई राख्न सक्छौं। खाना र नास्ता गरी दिनमा चार पटक उपलब्ध गराउँछौं।’

समुदायस्तरमा संक्रमण बढ्दा भीआईपीका लागि आइसोलेसन व्यवस्थापन गर्न कठिन भइरहेको थियो। डाक्टर, इन्जिनियर, अधिकृत, उद्योगी, व्यवसायी, जनप्रतिनिधि सबैमा कोरोना संक्रमण भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार शुक्रबार मात्र बाँकेका ४९ जनामा कोरोना संक्रमण पुष्टि भयो। सबैभन्दा बढी नेपालगन्जका ३२ जना, कोहलपुरका १५, खजुरा र जानकीका एक एक जना छन्।

श्रेष्ठका अनुसार बाँकेमा कोरोना संक्रमितको संख्या पाँच सय ४९ पुगेको छ। एक सय ४९ जना आइसोलेसनमा छन् भने चार सय ७ जना कोरोना जितेर घर फर्किसकेका छन्। कोरोनाबाट अहिलेसम्म बाँकेका २ जनाको ज्यान गएको छ। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV