२४ श्रावण २०७७, शनिबार

काठमाडौं, २४ साउन । भोलि आइतबारदेखि काठमाडौं उपत्यका ‘सटडाउन’ हुने रे यो हल्लाले उपत्यकावासी आक्रान्त बनेका छन् । धेरैमा भय र त्रासले डेरा जमाइसक्दा अब भोलिदेखि के के हुने हो भन्ने आशंकाले सबैलाई सताएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको हिजो शुक्रबार काठमाडौं जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकपछि सुरु भएको ‘सटडाउन’ हल्लापछि आज धेरैले उपत्यका समेत छोडेका छन् ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकपछि जारी विज्ञप्तीमा भने कहीं कतै ‘सटडाउन’को उल्लेख भएको छैन । बैठकपछि जारी विज्ञप्तीमा काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले गर्ने कामकारवाहीका बारेमा प्रष्ट पारिएको छ ।

भोलि साउन २५ गते आइतबारदेखि भदौ ८ गतेसम्मका लागि तीनवटै जिप्रकाबाट अत्यावश्यक कामकारवाही मात्र गरिने र अन्य सेवा हालका लागि स्थगित गरिएको प्रष्ट पारिएको छ ।

यस १५ दिनको अवधिमा गरिने कार्यहरुमा शान्ति सुरक्षासम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पास सम्बन्धी कार्य र विपद् व्यवस्थापन सम्बन्धी कार्य रहेको उल्लेख गरिएको छ ।

यस १५ दिनको अवधिका नयाँ नेपाली नागरिकता वितरणलगायतका ९ कार्यहरु नगरिने पनि विज्ञप्तीमा प्रष्ट पारिएको छ । जस्ले गर्दा कार्यालयहरुको भीड बढाउने कार्य होस् । यस अलावा अन्य कुनै लिखित निर्णय सार्वजनिक गरिएको छैन ।

तर बैठकपछि साउन २५ गते आइतबारदेखि काठमाडौं उपत्यकामा सटडाउन लागू हुने समाचारहरु सार्वजनिक हुन थालेपछि काठमाडौं उपत्यकावासी चरम अन्यौलमा परेका छन् ।

भोलिदेखि काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन नचल्नेदेखि, पसल बजार समेत नखुल्ने हल्लाले उपत्यकावासी चरम अन्यौलमा छन् ।

‘त्यस्ताे केही हुँदैन, सबै नियमित रहन्छन्, भीडभाड हुने स्थानमा तीनवटै जिल्ला प्रशासन कार्यालयले निगरानी बढाउनेछन्’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले न्यूज २४ लाई बताउनु भयो । उता भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने केही कडाई हुने प्रष्ट पार्नुभयो ।

न्यूज २४ संग कुरा गर्दै प्रजिअ पाण्डेले भन्नुभयो ‘ हेलचेक्रयाइ र लापरवाही बढेको छ, मानिसहरुको अनुशासनहिन भीड जता पनि देखिन थालेको छ, मास्क नलगाउने, चियापसलमा भीड जम्मा गरेर गफ चुट्ने, सामाजिक दूरीको पालना नगर्ने, कुनै पनि जनस्वास्थ्यका मापदण्ड पूरा नगर्ने प्रवृति बढेको छ, यस्तो गतिविधिमाथि पक्कै कडाई हुनेछ भोलिदेखि ।’

उहाँले सार्वजनिक सवारी साधन जनस्वास्थ्यका मापदण्ड पूरा गर्न नियमित चल्ने, रेष्टुरेण्ट तथा होटलहरु पनि मापदण्ड पूरा गरेर चलाउन पाउने तर कुनै पनि मापदण्ड उल्लंघन गर्ने कार्य भए गरेको पाइएमा तत्काल बन्द गरिने पनि प्रष्ट पार्नुभयो ।

काठमाडौं उपत्यकामा कोरोनाको बढ्दो जोखिमलाई ध्यान दिएर कडा लकडाउन लागू गर्नु पर्ने या सटडाउनमा नै जानु पर्ने सुझाव विज्ञहरुबाट उठ्दै आएको छ । तर सरकारले तत्काल लकडाउन लागू नगर्ने प्रष्ट पारिसकेको छ ।

सरकारले जोखिम बढी भएको जिल्ला र क्षेत्रमा सम्बन्धित जिल्लाका जिप्रका र स्थानीय तहलाई अधिकार दिएको र काठमाडौं उपत्यकामा भने जोखिमपूर्ण क्षेत्रमा सिलसम्म गर्ने तयारी रहेको सरकारी तयारी सार्वजनिक भइसकेको छ ।

आर्थिक गतिविधि कायम राख्दै कोरोना नियन्त्रणमा ‘ढंग’ पुर्याउनु भन्ने आदेश सरकारबाट भएकोले तत्काल सरकारले कुनै पनि कडा प्रावधान लागू नगर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV