२४ श्रावण २०७७, शनिबार
  • देवेशराज भट्टराई

बिहानको मौसम त्यति राम्रो थिएन ! सात बजे टन्टलापुर घाम लागिसक्नु पर्नेमा, आकासको एक भित्ता पनि निलो नदेखेपछि मैले मेरो हात्तीलाई नै ओढाउन पुग्ने छाता लिएर निस्किन के खोजेको थिएँ, मुसलधारे पानी पर्न सुरु गर्यो । लौ पर्यो, फसाद् । एकै छिन घरैमा २-४ पाइला सार्दै जीउ तन्काउन थालेँ ।

पानी थामिनु नै थियो, आखिर । आज मेरो लक्ष थियो, मेरो घरको छेउको गणेशको अगाडि धर्ना ! “धर्ना” के नेता र कार्यकर्ताको मात्रै पेवा हो त ? मैले किन नपाउने ? त्यो पनि गणेशसित । दुइ दिनदेखि परिक्रमा गर्दा मैले एउटा मात्र कुरा मागिराखेको थिएँ, एउटा कथाको शीर्षक । तपाइहरु भन्नुहोला, त्यस्तो पनि कसैले माग्छ त ?

लेखक

मलाई गाह्राे भा छ के । के गर्नु ती सबै मेरा पात्रहरु लकडाउनअगाडि बाली घुम्न गाका त्यहीँ, अड्केर मेरो बिजोग छ आजकल । मेरो गणेशले एउटा पात्र दिएनन् भने त मेरो रोजीरोटीको सवाल छ ।

मन्दिरअगाडि गएँ । लौ भगवान मलाई बचाउ भनेर के कुरा गर्या मात्र थिएँ, स्वयं श्री गणेशबाट आदेश भो र मलाई मर्जी भो, “तैँले आज तेरै गाउँको कम्पाउण्डर बा को कुरो कथा बनाएर लेख । उ पनि मेरो असीम भक्त थियो, बुझिस् ?” भगवान् गायब भए । मैले आज धर्ना गरेर थर्काएपछि, भोलिसम्म त जसरी पनि आफ्नो काम होला भन्ने ठानेको, आजै पो निस्के यो गणेस्, मेरी बास्सै ।

ल अब सुन्नुस् मेरो कम्पाउण्डर बा “भक्त बहादुर बस्नेत्”, हाम्रो ज्ञान दाइको बाको एतिहासिक कथा ।

०००

हाम्रो कम्पाउण्डर बा पनि मजस्तै श्री गणेशको चाकडी गर्न माहिर । त्यो बेला भगवान खुशी भएर एउटा बेलाइती ह्याम्मर साइकल मात्र होइन्, त्यसमाथि एउटा सानोतिनो संसारै अटाउने खैरो झोला झारेर छोडे ।

भगवान दाइने हात भएपछि के कुरो । त्यो बेलाको बानेश्वर गाउँको एक मात्र चिकित्सक । ६ फिट २ इन्च जिउडालका मान्छे । हात्तीभन्दा पनि अग्लाे । त्यसमाथि त्यो ह्याम्मर साइकल् । अनि के चाहियो, हाबाजस्तै बिरामीकहाँ एकै छिन पुग्नु हुन्थ्यो रे । सुन्या कुरा ।

त्यो बेलाको हात्तीजस्तो मेरो कम्पाउन्डर बालाई बोक्ने साइकल र अहिले मान्छेले बोक्ने साइकलको कुरा गरेर के समय फाल्नु ? त्यो त बायुपंखी घोडाको अर्को रुप थियो ।

ल अर्को कुरा पनि सुन्नुस्, त्यो पिढिँमा भाको उहाँको आराम कक्ष र अरु दुइ-तीन कोठा त मानौं बानेस्वरको लोकल हस्पिटल्, क्लिनिक र अरु जे, जे भन्नुहुन्छ्, अल इन वान थियो । छेउको ल्याबमा नाना प्रकारका चिप्लेकिरादेखि, जडिबुटी, औषधि, प्याथालोजी ल्याबको अर्को रुपै थियो ।

हाम्रो कम्पाउण्डर बाले के गरेनन् ? भुराहरुको हाड जोडेनन् कि, घाउ सेकेर सिलाएनन् कि, तिघ्राका मासु काटेर आजकलजस्तो झन्डै झन्डै प्लास्टिक सर्जरी सबै गर्न भ्याए । मानौं कि एउटा निरोगी, स्वस्थ बानेश्वर गाउँ बनाउन कहिले झाँक्री, कहिले वैद्य र कहिले सर्जन ।  फेरि आफ्नो असली रुप कम्पाउन्डर यानिकी मिनी डाक्टर, सबैको सिङो रुप “भक्त बहादुर बस्नेत” ।

यो सबै कुरा सुनेर मेरो बासित कफी टकमा आउन थोरै जरुर ढिलो भएको चाहिँ हो आज ! तर एउटा सानो टुक्रो कुरो मेरो बा “सन्दाइ” सित पनि जोडिने रैछ ।

आज मेरो बा लाइ पनि सरप्राइज दिन मन लाग्यो । मैले मेरो बालाई बिर्सेको हो कि, त्यो साइकल दुर्घटना भनेर ताजा याद दिलाउन थालें । कुरो के भा रैछ भने “मेरो बा त्यो बेलामा हात्तीभन्दा अलि सानो मात्र त हो नि, आफूलाई बोक्ने साइकलमा गाउँका आठजना भुराहरुलाई लिएर अगाडिको चौरमा मजासित घुमाएछन् बाले ! अन्तिम राउन्डमा भयो उपद्रो- भुराभुरी र हात्तीजस्तै मेरो बा साइकलबाट भुइँमा ड्याम्मै लडे रे ! अनी केटाकेटि द्ङ के पर्थे अब्, एउटा बालकको चाहिँ कुर्कुच्चामा अलि राम्रै घाउ भएछ, क्यारे ! पाङ्राभित्र त्यो कलिलो खुट्टा छिरेछ । अनि मेरो बा पुगे हाम्रो कम्पाउन्डर बाको क्लिनिक।

हाम्रो कम्पाउन्डर बा एकएक सर्जन्, एनेस्थेसिस्ट्, अर्थोपेडिसियन र बच्चाको डाक्टर, त्यो बालक उपचारमा कतिदिन तल्लिन भए होलान ल्, भन्नुस् । त्यो बालक अहिले ६० काटिसकेछन्, उनकाे कुर्कुच्चोमा पुरिएको खत केही अगि मात्र हेरेर आको थिएँ मैले ।

मेरो कम्पाउण्डर बा, तपाइँको यादमा दुइ-चार पंक्ती लेख्न पाउँदा रमाइलो लाग्यो है ! ईश्वरले हजुरको आत्मालाई शान्ति दिउन्… !

प्रतिक्रिया दिनुहोस्

LIVE TV