२४ श्रावण २०७७, शनिबार
  • युवराज नयाँघरे

धेरै वर्षपछि सम्झना भो क्याम् खाटको !

घरमा अरु पनि खाट थिए । काठका, डोरीले बाटिएका, झोलुङ्गाका खाट थिए अनेक–अनेक । ती मध्ये पनि मलाई क्याम् खाटकै बढी सम्झना आउँछ अद्यापि ।

पूर्वपट्टिको ठूलो कोठामा थियो— क्याम् खाट ।

त्यहाँ आमा सुत्नु हुन्थ्यो । आमाको राखनधरन, थान्कोमान्को त्यही क्याम् खाटमै हुने गथ्र्याे । एक अर्थमा त्यो धनसार, ढुकुटी वा दराज भने नि हुने । त्यसलाई ‘सेफ’ भने नि हुने ।

आजभोलिको त ‘ब्याङ्क’ नै ।

घरमा अरु पनि दराज, बाकस वा सन्दुस थिए । ट्याङ्का वा खुत्रुके नि थिए हरेक कोठामा । अझ सानो प्वाल पारी राखिने पैसाका कन्चाकन्चीले गर्दा छिन्द्रिङ–छिन्द्रिङ बज्थे बाँसका खाँबा ।

तैपनि मलाई आमा सुत्ने क्याम् खाटकै बढी ख्याल हुन्छ । ज्यादा मेरो सुदुर अतीत त्यहाँनिर आएर ठोक्किइरहन्छ । अङ्ग्रेजीको ‘क्याम्प’ शब्द जोडिएको थियो क्याम् खाटमा ।

आमाको त्यो खाटको बनौट अरुभन्दा भिन्न थियो । खाटको माथिल्लो भागलाई कब्जा ठोकेर फर्लक्क उघार्न मिल्ने बनाइएको थियो । अनि तल्लो भाग बाकसजस्तो थियो ।

झन्नै–झन्नै गुफाजस्तो । गहिरो ओडारजस्तो । सानोतिनो त सुरुङ नै ।

माथिको फलेक मिलेपछि फेरि जस्ताको तस्तै खाट भैहाल्यो । फलेक उघार्यो अनि सामान राख्यो ।

त्यही बाकस ‘क्याम्प’ वा सुरुङे खाटलाई हामी ‘क्याम्’ खाट भन्थ्यौँ । घरमा सबैले यही नामबाट जानेथे यो खाटलाई । दाइदिदी, भाइबहिनी मात्र होइन–आमासँग बुबाको गुनगुन पनि प्रायः त्यही क्याम् खाटकै छेउमा हुने गथ्र्यो ।

क्याम् खाटलाई बीचको भागसम्म उघार्न मिल्थ्यो । एकदमै बलिया कब्जा र काँटी ठोकेर बनाइएको थियो ढप्कनी । तलपट्टि लगाइएको हुन्थ्यो तुर्लुङ्ग साँचो ।

कतै ताल्चा खुल्ला छ कि भनी यदाकदा हेर्ने पनि गर्थें म, कर्के आँखाले ।

आमाको क्याम् खाटमा दुई जना सुत्न मिल्ने खालको थियो । तैपनि खाटको भित्ते भागमा सिरक हुन्थे बाह्रै काल, बाह्रै मास । त्यो खाट मेरा लागि सँधै रोज्जा थियो ।

आमा नहुँदा म सुत्न खोज्थेँ त्यहाँ । त्यसको बास्ना, लुगाको हरक वा धेरै गद्दा लाग्ने त्यो खाट किन–किन मैले भिन्नै अनुभूतिको ठानेँ प्रायः । सुवासको पत्रे उपस्थिति भेटेँ मैले । त्यो खाटका लुगामा आमाको सुगन्ध भेटेँ हुँला मैले । अनि ममताको छुवाइले प्रिय भएको होला मलाई ।
क्याम् खाट निकै गह्रुँगो थियो ।

मोटा–मोटा बाकलले बनेको थियो खाट । अग्राखका द¥हा काठले बनेको यो खाट साह्रै बलियो लाग्थ्यो ।

वर्षको एक पटक आमाले पुछपाछ गरेको सम्झना छ खाटलाई । आमाले कुचो लगाउँदै गर्दा हामी पुग्यौँ भने भन्नु हुन्थ्यो— ‘भँडार हो यो । नछोओ है सरसामान !’

हुन पनि क्याम् खाटमा संसारै अँटेको हुँदो रहेछ । आमाले जे कुरा पनि खाटबाटै सरक्क झिक्नु हुन्थ्यो । चिनी, चियापत्ती, पिठो त दैनिक व्यवहारका सामानै भए ।

नरिवल, मिस्री, सुकुमेल र दालचिनी पनि आमाले क्याम् खाटबाटै झिक्नु हुन्थ्यो । मूलाका चाना, दालका झोला, सुपारीसँगै सरौतो, बत्तीका बिटा पनि क्याम् खाटबाटै बाहिर आइपुग्थे ।

कसैलाई दान दिनुपर्यो त्यैँबाट लुगा बाहिरिन्थे । पुराना झत्तेसम्म राखिएका हुन्थे त्यतै ।

आमाले क्याम् खाट खोलेको हामी कसो–कसो थाहा पाइहाल्थ्यौँ । खाटको ढकनी उघार्दा चुइँ्यय आवाज आउँथ्यो । त्यै आवाज सुनेर हामी क्याम् खाट छेउ पुगिहाल्थ्यौँ ।

म त खुलेको मात्र हैन बन्द हुँदै गरेको ढप्कनीको आवाज नि पत्तो पाउँथेँ ।

कानै खाने गरी आवाज आउँथ्यो । हामी बारीमा दगुरिरहेका, खेतमा जिस्किरहेका, आँगनमा खेलिरहेका भए पनि पुगिहाल्थ्यौँ हत्त न पत्त क्याम् खाट छेउमा । अनि उत्सुकता, रहस्य र खुल्दुलीका भावले हेर्थ्याैं त्यो खाटको अँध्यारो गुफामा ।

ओहो, के मात्रै छैन खाटभित्र !

भड्डुहरु छन् । काँसका थाल, गिलास छन् । लोहोटाको चाङ छ । डाडुपन्युँ र बटुकाहरुको खात छ । चम्चा र कचौराले निकै ठाउँ ओगटेका छन् ।

‘यत्ति धेरै !’

आमालाई सोध्ने फुर्सदै नहुने । आफ्नै आँखाले क्याम् खाटभित्र हेरे उत्तर भेटिहाल्थ्यो ।

आमा हामीलाई मिस्री वा नरिवलका टुक्राटुक्री दिएर खेदिहाल्नु हुन्थ्यो । मलाई त्यो खाटभित्र पसेर धेरै कुरा हेर्न मन लाग्थ्यो । एक–एक गरी अरु सामान र चिजबिज निहाल्न रहर लाग्थ्यो ।

क्याम् खाटको पूर्वपट्टि लक्ष्मीपूजा गरिन्थ्यो । त्यो रात आमाले लगाउने तिलहरी, नौगेडी, औँँठी, काँडे फुली, लस्करी, चन्द्राकारको ठूलो क्लिप पनि आउँथे— खाटबाट बाहिर ।

पाउजु र शिरफुला नि देखिन्थे । सिक्री र जन्तर पनि सजाउनु हुन्थ्यो आमाले चामलको रासमा ।

भोलिपल्ट फेरि तिनलाई पुछपाछ गरी क्याम् खाटभित्रै राखिहाल्नु हुन्थ्यो । मलाई एकदुई दिन त्यो खाट औधी रित्तै लाग्यो । आमाले गहना थन्काएपछि टम्म, भरिपूर्ण र तृप्त भएको लाग्थ्यो खाट ।

‘लक्ष्मीलाई घाम देखा’को नि !’

क्याम् खाट खाली पारेर बाहिर पोखिन्थ्यो । हाम्रा आँखाको छटपटी मेट्न आमाले भनिरहेका शब्द प्रायः सुन्थेँ म ।क्याम् खाट मलाई अर्थ र गतिको सङ्गम लाग्छ ।

यसपालि धेरै वर्षपछि मैले त्यो खाट हेरेँ । खाटको रुप र आकारमा कुनै परिवर्तन छैन । अनुहार र साखमा कुनै फरक छैन । त्यसको आवाज र उघ्राइमा कुनै अलगपन पनि छैन ।

केवल उपस्थिति छैन आमाको ।

एउटा घुर्मैलो अनुहार । एउटा चुपचाप इतिहास । एउटा मौन तस्वीर । एउटा चकमन्न चरित्र । एउटा सुनसान गति ।
मैले त्यही अनुभूत गरेँ—क्याम् खाट निहाली–निहाली ।

आमा सँधै त्यही खाटमै सुत्नु भयो । हामी सात जना सन्तान लगभग त्यहीँ हुक्र्यौं । हामी सबै छोराछोरी त्यही खाटमै गुडुल्किँदा नि पुग्ने खाट ।

एक अर्थमा— परिणाम र परिमाणका हरेक बिम्वसँग क्याम् खाट गाँसिएको छ ।

बर्खाको बेलामा घर चुहुँदा यताउता सार्नु पथ्र्याे क्याम् खाट । एक दुई पटक सार्न पनि त खोजेकै हो हामीले । तर कति धेरै गह्रुङ्गो भने … ।
अँह, सकिएन । क्यै गरी सकिएन !

अनि बाटा, थाल, कचौरा थापेर तप्ल्याकतुप्लुक पानी तर्कायौँ । भोर्लाका पात वा घुम राखेर नि बर्खा भगायौँ । निसोधारे झरी नि छेक्यौँ ।

हो, बाच्छिटाले भने आमाको सिरानी भिजी हाल्ने— कसै न कसै ।

एउटा द्वन्द्व चैँ हुन्थ्यो भाइसँग— ऊ गिलास राखी तपतप छेक्न खोज्ने । म आरी राखी चुहुने छल्न खोज्ने । साना र ठूलाको कचिङ्गलोले थामिइसक्थ्यो यदाकदा दर्कने पानी ।

क्याम् खाट एउटा सुरक्षा पनि हो । क्याम् खाट एउटा ओत पनि हो । क्याम् खाट एउटा नीति पनि हो । क्याम् खाट एउटा सम्भार पनि हो ।ममता र स्याहारको अर्को शब्द पनि मान्छु म, क्याम् खाटलाई ।

आमाले अरु दराज वा आलमारी चलाएको मलाई थाहा छैन । आमाले अरु डोरी वा ट्याङ्काबाट लुगा झिकेको मलाई थाहा छैन । सुट्केस वा थैलाथैली आमाले खोतलेको पनि सम्झन्न म त ।

उही क्याम् खाट !

त्यही खाटमा मेरा लुगा राखिए । तैपनि वरपर खोज्दा नपाए नि त्यहीँ पुग्थेँ म । अनि आमालाई भन्न पुग्थेँ— ‘खोई काँ छ ?’

‘तिमेरले जतन गरे पो !’ आमा यसो भन्दै त्यही क्याम् खाटबाट झिकेर फट्कार्दै दिनु हुन्थ्यो— गन्जी, भोटो वा टोपी । नभेट्दाको हैरानी बेपत्ता छिनभरमै ।

यो क्याम् खाट मेरो बालापनको खुत्रुके हो ।

हो, मनचिन्ते झोला । हो, कल्पवृक्ष । हो, भरिपूर्ण भण्डार ।

क्याम् खाटमा सुतेको छु धेरै पटक । सानोमा बिरामी हुँदा मैले नि त्यहीँ सुत्न खोजेँ । आमाले पनि क्याम् खाटमै राखेर स्याहार गर्नु भो ।

अरु खाटमा सुत्दा म चाँडो निको हुँदिनथेँ । तर क्याम् खाटमा सुतेर ओखती खाएपछि म तङ्ग्रिन्थेँ चाँडचाँडै । मलाई क्याम् खाटको स्पर्शले एउटा ऊर्जा, साहस र तागत दिएको हो कि !

क्याम् खाट फुस्रो थियो ।

कुनै रङ नदलिएको वा दलिने प्रयास समेत नभएको । तर त्यो रङ्गविहीन खाटमा पनि कति धेरै रङ्गीन सपना, कति धेरै सुनौला सपना, कति धेरै रङ्गीचङ्गी विपनाको तहतह ।

मैले आज धेरै वर्षपछि फेरि खाट हेर्दा सिङ्गो परिवारको प्राण जोडिएको भेटेँ— क्याम् खाटको सुरुङमा ।

आमाले कहिले पनि भन्नु भएन— खाटमा के के छन् भनेर । एक दिन मैले सोधेको थिएँ—‘आमा, यो क्याम् खाटको साँचो खोल्नु न ।

हेरौँ, के-के राख्नु भा’ को छ !’

‘जुन दिन म हुन्न अनि हेर्नु । अहिले त म तिमेरु सामुन्ने छु !’

आमाको त्यो भनाइ बुझिनँ तत्काल ।

आज बीस वर्षपछि त्यो क्याम् खाट छेउमा उभिएर मैले बोली भित्र पस्न खोजेँ । जसले ममता बोलेछ, जसले कर्तव्य सिकाएछ, जसले समय चिनाएछ ।

हो, जीवन जस्तो जीवन जिउन सिकाएछ ।

क्याम् खाट— कहिल्यै बूढो भएन । क्याम् खाट— कहिल्यै पुरानिएन । क्याम् खाट— कहिल्यै थोत्रिएन ।

यी नबूढिनु, नपुरानिनु र नथोत्रिनुमा— अनुभव र साधनाको मलबीउ छ । आमालाई त्यही मलबीउको सम्बोधनमा हेर्दैछु म ।

क्याम् खाटजस्तो अबाध हालचाल !

पुराना कुरामा डोर्रिंदा— आफ्नो मन धेरै ठाउँमा पग्लेको भेट्छु म । एक पटक आमाको सिरानीमुनि बाट लामो हात गरेको पैसा लुकाउन मैले

त्यही क्याम् खाटको चेप नै सुरक्षित ठानेँ । आमालाई रोईकराई गरेपछि पाइहालिन्छ भन्ने विश्वासले त्यो काम गरेथेँ । तर पछि त्यो अप्ठेरोमा आमाको साथ गतिलैसँग पाएँ ।

क्याम् खाट ठूलो पनि होइन । ठिक्कको छ । सानी कदकी मेरी आमालाई मनग्गे पुग्छ आराम र विश्रामका लागि । जस्तै परे पनि आमा त्यै खाटमै सुत्नु हुन्थ्यो ।

यदाकदा पाहुना र इष्टमित्रले घेर्दा नि आमा ओर्लनु भएन क्याम् खाटबाट । आमालाई खोज्ने ठाउँ— हामी सबैको त्यही क्याम् खाट थियो । जहाँ उहाँ बिरामी, सद्धे वा उल्लसित जस्तै हालतमा पनि भेटिनु हुन्थ्यो । कथम्, क्याम् खाटमा आमा नभेटिनु वा नदेखिनु— हरेक अर्थले अशुभ हुन्थ्यो । अपूर्ण र अभाव पनि त्यत्तिकै ।

क्याम् खाट— अनुभवको एउटा प्रतीक । क्याम् खाट— निखारको एउटा परिचय । क्याम् खाट— परिष्कारको एउटा नाम । यी सबै चिनारीमा म आमाको अनुहार देख्छु उज्जर ।

आज धेरै वर्षपछि भित्तोतिर क्याम् खाट सार्दा लाग्यो— धेरै निखारले परिवारका जुइनाहरु आमाले कस्नु भएको रहेछ । हजारौँ मायाका लिउनले हामीलाई लिप्नु भएको रहेछ ।

क्याम् खाटको चुकुल अचेल खुस्किएछ । हो, आमा बितेपछि मेरो घरमा बुबासँगै हाम्रा अनुहारको जूनतारा खसेका छन् । घाम अस्ताएको छ छपक्कै ।

क्याम् खाट सङ्ग्रहालय रहेछ— जहाँ समग्र जीवनको इन्द्रेनी छ मेरो !
-०-

प्रतिक्रिया दिनुहोस्

LIVE TV