संक्रमण पुष्टि भएकाहरु मोबाइल नै अफ गरेर बेपत्ता बन्दै, बेपत्ता १२ मध्ये आठ फेला (भिडियो)



प्रकाशित मिति : Aug 07, 2020
  • रिया भण्डारी,

काठमाडौं, २३ साउन । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका संक्रमितहरु मोबाइल नै अफ गरेर बेपत्ता बन्ने समस्या बढ्दै गएको छ ।

कतिलाई मोबाइल ट्रेसिङ गरेर पत्ता लगाइए पनि अझै केही बेपत्ता छन् । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये ८ जना संक्रमित सम्पर्कविहीन बनेका थिए भने बिहीबारदेखि ४ जना मोबाइल अफ गरेर बेपत्ता छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पीसीआर परीक्षणको नमूना लिने क्रममा मोबाइल नम्बर लिने गर्छ । यसक्रममा पोजिटिभ रिपोर्ट आएकालाई फोन सम्पर्क गरेर एम्बुलेन्स लिन जाने गरेको छ ।

तर, पोजिटिभ रिपोर्ट आएका कतिपयलाई ‘फोन सम्पर्क गरेर तपाइको रिपोर्ट पोजिटिभ आएको र एम्बुलेन्स लिन आउदै छ लोकेसन भन्नुहोला’ भनेपछि फोन काटेर मोबाइल नै स्विच अफ गर्ने गरेका छन् ।

स्वस्थ्यकर्मीको सम्पर्कमा नआएका संक्रमित धेरैले सम्पर्क नम्बर नै गलत राखेको पाइएको छ । पछिल्लो दुई दिनमा १२ संक्रमित सम्पर्कविहीन थिए तर ८ जनालाई खोजिएको छ भने अझै ४ जना संक्रमित उपत्यकामा बेपत्ता छन् ।

संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजी भइरहेको छ । संक्रमितहरु यसरी बेपत्ता हुँदा उपत्यकामा झनै जोखिम बढेको छ ।

संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ । मानिसहरुको सम्पर्कको आधारमा सर्ने यस्तो प्राणघातक रोगमा पनि यसप्रकारको गैरजिम्मेवारीपन पक्कै पनि क्षम्य हुन्न ।

संक्रमित आफै जिम्मेवार बन्नु पर्ने अवस्थामा यस शैलीको हर्कतले समाजमा संक्रमणको अवस्था झनै भयावह बन्ने सम्भावना प्रबल छ । यो घटनाले समाज झनै बढी सचेत बन्नु पर्ने अवस्था पनि उत्पन्न भएको छ ।

संक्रमण भएको थाहा हुँदा हुँदै पनि यसरी बेपत्ता बनेकालाई सरकारले संक्रमण ऐन २०२० बमोजिम कारबाही गर्न सक्ने कानूनी प्रावधान पनि छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com