पशुपतिका सम्पदामाथिको थिचोमिचो सह्य हुँदैन : मन्त्री भट्टराई



प्रकाशित मिति : Aug 07, 2020

काठमाडौं, २३ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेशकुमार भट्टराईले पशुपति क्षेत्रका सम्पदामाथिको थिचोमिचो र अतिक्रमण कुनै पनि हालतमा सह्य नहुने बताउनुभएको छ ।

शुक्रबार पशुपति क्षेत्र विकास कोषले अनुसन्धान ग्रन्थ ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त अमूर्त)’ नामक कृति सार्वजनिक गर्दै मन्त्री भट्टराईले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “पहिले जस्तो राजनीतिक अस्थिरता अहिले छैन, जन अनुमोदित र बलियो सरकार भएकाले राजनीतिक सौदाबाजी गर्नुपर्ने आवश्यकता छैन, राजनीतिक उद्देश्य वा अरु कुनै पनि कारणले पशुपति क्षेत्रको सम्पदामाथिको थिचोमिचो र अतिक्रमण टुलुटुलु हेरर बस्न सकिँदैन ।”

कुनै पनि राजनीतिक उद्देश्य तथा गलत मनसायका साथ आर्थिक लेनदेनका कारण सांस्कृतिक सम्पदामाथि ज्यादती गर्न नपाइने मन्त्री भट्टराईको भनाइ थियो ।

सांस्कृतिक सम्पदामाथि हुने अनावश्यक अतिक्रमण हटाउन सरकार लाग्ने प्रतिबद्धता पनि उहाँको छ । २०४३ सालमै सरकारले तोकेको पशुपति क्षेत्रको चारकिल्लाप्रति कसैको पनि विमति नरहेको उल्लेख गर्नुहुँदै मन्त्री भट्टराईले चारकिल्लाभित्र बन्ने निजी संरचना पनि सम्पदा मापदण्डभित्र हुनुपर्ने बताउनुभयो ।

पशुपति क्षेत्रको प्रस्तावित गुरुयोजना बाहिर आएपछि सङ्र्घष समितिको नाममा भएको विरोधलाई सम्बोधन गर्न मन्त्रालयमै छलफल कार्यक्रम आयोजना गरेको र आवश्यक छलफल गरेर सो प्रस्तावलाई अन्तिम रुप दिने प्रयोजनका लागि सहसचिवको संयोजकत्वमा कार्यदल गठन भएको छ ।

लोकतान्त्रिक व्यवस्थामा व्यक्तिका असन्तुष्टि वा फरक मतप्रति सम्मान रहने भएकाले कार्यदल बनाइएको उहाँको भनाइ थियो ।

सरकारले कुनै पनि नागरिकलाई विकल्पविना निवासबाट नहाउने र त्यसो गर्न कानूनले पनि नदिने उल्लेख गर्दै मन्त्री भट्टराईले भन्नुभयो–‘सरकारले कानुनी सर्वोच्चतालाई सम्मान गर्छ, त्यसो भन्दैमा पशुपति क्षेत्रभित्र मापदण्ड विपरीत मनलागी गर्न पाइदैन’ ।

पशुपति क्षेत्र पवित्रतामा रमाउने र धर्म कमाउने ठाउँ भएकाले आर्थिक लेनदेनबाट कुकर्म कमाउने बाटोमा नलाग्न पनि उहाँले कोषका पदाधिकारी तथा कर्मचारीलाई सचेत गराउनुभयो ।

खार्थिक लेनदेन र गलत मानिसलाई प्रश्रय दिने काममा लागेमा कारबाही गर्ने मन्त्री भट्टराईले चेतावनी दिनुभयो । कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति प्राडा जगमान गुरुङले पशुपति क्षेत्रको तिलगङ्गामा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वले युक्त त्रिविक्रमको मूर्तिलाई संरक्षण गर्न माग गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com