२३ श्रावण २०७७, शुक्रबार
  • तारा आचार्य

विराटनगर, २३ साउन । दैनिक संक्रमितको संख्या थपिने र मृत्यु पनि हुन थाले पछि स्थानीय सरकारले कोभिड अस्पताल साथै सञ्चालित अस्पतालमा आइसोलेसन वार्ड थप्न माग गरेका छन् ।

प्रदेश १ को राजधानी विराटनगर महानगरपालिकामा दिनहुँ जसो कोरोना संक्रमितहरु थपिन थालेका छन् । यस्तै समुदाय स्तरमा संक्रमण फैलिसकेको हुनाले कतिपय संक्रमितहरु अस्पतालमा वेड नपुगेर घरमै बस्नु परेकोे भन्दै विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्कीले प्रदेश सरकार संग कोभिड अस्पताल साथै पीसीआर टेष्टगर्नको लागि ल्याब थपगर्न आग्रह गर्नु भएको छ ।

उहाँले अहिले भएका अस्पतालमा संक्रमितहरु नआटेर घरमै बस्न बाध्य भएका र स्वाब संकलन गरेको रिपोर्ट आउन ढिलो भएका कारण प्रदेश सरकारसंग संक्रमितहरुलाई उपचार गर्न अस्पताल र ल्यावको व्यवस्था गर्न माग गर्नु भएको छ ।

यता प्रदेश नं. १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले भने पहिलेको व्यवस्थापन भएकाले केहि अभाव र समस्या भएको हुनाले अव भने समय अनुसारको व्यवस्थापन गर्दै जाने र संक्रमितहरु बड्दै गएपछि प्रदेशमा संचालित कोरोना अस्पतालहरुको क्षमता विस्तार गरी आईसोलेशन वार्डहरु थप्ने तयारी शुरु भइसकेको बताउनु भएको छ ।

उहाँले लकडाउन खोलिएपछि संक्रमितहरुको संख्या ह्वात्तै बढेको र नयाँ परिस्थिति सिर्जना भएकाले विराटनगरको कोरोना विशेष उपचार केन्द्रमा २ सय शैया, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय शैया र मेची अस्पतालमा एक सय शैया थप्ने निर्णय भएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो ।

उहाँले डब्ल्युएचओको मापदण्ड अनुसार छुट्टै कोठा, छुट्टै शौचालय र बाथरुम तथा सामाजिक र पारिवारिक वातावरण सचेत भएको पाइए होम आइसोलेशनमा बस्न सकिने भए पनि सवै जनाको सुविधा सम्पन्न घर नहुने भएकाले आमरुपमा आइसोलेसन व्यवस्थापन गर्नु पर्ने बताउनु भयो ।

उहाँले निजी अस्पताललाइ पनि आइसोलेसन बनाउन सक्ने गरी संघीय सरकारले निर्णय गरिसकेको हुनाले त्यसतर्फ पनि प्रदेश सरकारको ध्यान गएको जानकारी समेत दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV