२२ श्रावण २०७७, बिहीबार
  • रिया भण्डारी,

काठमाडौं, २२ साउन । कोरोनाको भाइरसको उद्गम मुलुककोरुपमा चिनिएको चीनले नेपालमा कोरोना जोखिम नियन्त्रणका लागि हरप्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ ।

तर उसको यो प्रतिबद्धता उसैले लत्याउँदै नेपालको सरकारी निकायले गरेको परीक्षणमाथि प्रश्न उठाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको पीसीआर रिपोर्टलाई नेपालस्थित चिनियाँ दूतावासले मान्यता दिन अस्वीकार गरेपछि चिनियाँ प्रतिबद्धतामाथि प्रश्न उठाउन थालिएको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले काठमाडौं महानगरपालिकाको वडा नं. २६ को सिफारिसको आधारमा चीन फर्किन लागेका ५९ जनाको पीसीआर परिक्षणको लागि नमुना संकलन गरेको थियो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले पीसीआर गरेको थियो तर चिनियाँ दूतावासले त्यो रिपोर्ट स्वीकार नगर्ने भन्दै निजी अस्पताललाई परीक्षण गर्न दिएको छ ।

गत साउन १३ गते काठमाडौं महानगरपालिकाको वडा नं।२६ को कार्यालयले चीन फर्किन लागेका चिनियाँ नागरिकको पीसीआर गरिदिन अनुरोध गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखालाई एउटा पत्र पठायो ।

त्यसै अनुरुप महाशाखाको टोलीले साउन १६ गते चीन फर्किन लागेका ५९ जना चिनियाँ नागरिकको पीसीआर परिक्षणको लागि स्वाब संकलन गरेको थियो ।

सबैको रिपोर्ट नेगेटिभ आयो त्यही रिपोर्ट चिनियाँ दूतावासमा पेस गरियो तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको रिपोर्टलाई मान्यता नदिने भन्दै निजी अस्पतालमा पीसीआर परीक्षण गर्न भनियो ।

नेपालभरिको सम्पूर्ण ल्याबलाई नियमन गर्ने नेपाल सरकारको स्वामित्वमा रहेको विश्व स्वास्थ्य संगठनको मान्यता प्राप्त ल्याबबाट गरिएको पीसीआर रिपोर्टलाई किन चिनियाँ दूतावासले मान्यता दिएन यो नै अहिले प्रश्नको विषय बनेको छ ।

स्वाब संकलन गर्ने स्वास्थ्यकर्मीका अनुसार इडीसिडी टेकुको टोलीले नेपाली सेनाले चीनबाट खरिद गरेको बायो टेक सन सियोर कम्पनीको १ एमएलको भीटीएममा चिनियाँ नागरिकहरुको स्वाब संकलन गरिएको थियो ।

त्यस्तै पुनः परीक्षण गर्ने स्टार अस्पतालले ३ एमएलको भीटीएममा स्वाब संकलन गरेको थियो तर स्टार अस्पतालबाट पनि सबै रिपोर्ट टेकुको जस्तै नेगेटिभ आएको छ ।

कतै सरकारी ल्याबको कम्युटर रिपोर्टिंङ भरपर्दो नभएर हो की भनेर जनस्वास्थ्य प्रयोगशाला टेकुसमक्ष न्यूज २४ ले जिज्ञासा राख्दा बिरामीको आइडी र नाम राखेपछि संसारको जुनसुकै कुनावाट पनि आफ्नो ल्याबको रिपोर्ट हेर्न सकिने जवाफ टेकुले दिएको छ ।

हाल टेकु प्रयोगशालामा पीसीआर परीक्षण गर्दा प्रयोग गर्ने सम्पूर्ण सामग्री चीनबाटै खरिद भएका हुन् । तर पनि चिनियाँ दूतावासले सरकारी ल्याबको रिपोर्टलाई किन मान्यता दिएन ? यो प्रश्न नेपालस्थित चिनियाँ दूतावासतर्फ तेर्सिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV