२२ श्रावण २०७७, बिहीबार
  • रामगोपाल तमखु

भक्तपुर, २२ साउन । भक्तपुरको साँगा नाकाबाट उपत्यका भित्रिनेको संख्यामा बृद्धि भएसँगै उपत्यकामा कोरोना संक्रमणमा बृद्धि भएको छ । लकडाउन खुलेसँगै पूर्वबाट साँगा नाका हुँदै उपत्यका प्रबेश गर्नेहरुको संख्या बढेसँगै दिनानु दिन कोरोना संक्रमितको संख्या थपिने क्रम चुलिदो छ ।उपत्यका प्रवेशको पूर्वी नाका साँगामा तीन हजार भन्दा बढि संख्याको स्वाब संकलन गरी गरिएको परीक्षणको रिर्पोटलाई आधार मान्दा पनि यो नाका भएर उपत्यका आउनेहरुमा संक्रमण अन्य नाका भन्दा बढी रहेको पाइएको छ ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार उपत्यका प्रवेश गर्नेहरु मध्य यो नाकाबाट प्रवेश गरेकाहरुमा बढि संक्रमण देखिएको छ । यो नाका हुँदै उपत्यका प्रवेश गरेर विभिन्न अस्पतालमा गरिएको परीक्षण गरिएकामा कोरोना संक्रमितको संख्या बढेको उहाँको भनाइ छ ।लकडाउन खुले तापनि एक जिल्लाबाट अर्को जिल्ला प्रबेश गर्ने सवारीमा रोक लगाएको छ । यो नाका भएर हिडेर आवत जावत गर्नेको संख्यामा बृद्धि भएको छ । नाका भन्दा दुई तीनसय मिटर परबाट साँगा नाका भई भक्तपुर तिर करिव ५०० मिटर सम्म हिडेर आउनेको संख्या बढेसँगै मानवीय संवदेनाको आधारमा काभ्रे र भक्तपुरका हकमा छुट दिएको प्रजिअ पाण्डे नै बताउनु हुन्छ ।

अन्तर जिल्ला समन्वयका आधारमा भक्तपुर र काभ्रे जिल्ला आवत जावतका लागि छुट दिइएको र यात्रुहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गर्दै साझा यातायातलाई साँगा नाका पार गरेर काभ्रेबाट यात्रु ओसार पसार गर्न छुट दिएको पनि उहाँको भनाइ छ ।

दुवै जिल्लाका प्रजिअ र प्रहरी प्रमुखहरुको बैठक बसेर दुई जिल्लाबीच यात्रुलाई सहज बनाउने वातावरण तयार गरिएको र यसको जानकारी गृह मन्त्रालयमा समेत गराइएको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV