२२ श्रावण २०७७, बिहीबार
  • ज्योतिकुमार पन्थी

गुलरिया, २२ साउन । पछिल्लो समय देशभर कोरोना संक्रमण समुदायस्तरमै देखिन थालेपछि संक्रमणको प्रभाव बढ्न नदिन बर्दियामा आइतबारदेखि ५ दिने निषेधाज्ञा जारी गरिएको छ ।कोरोना संकट व्यवस्थापन समिति बर्दियाले २५ गते देखि २९ गते सम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । जिल्ला समन्वय समिति संयोजक, ८ वटै पालिका प्रमुख, स्वास्थ्य प्रमुख, सुरक्षा निकायका प्रमुख सहितको उपस्थितिमा भएको छलफलबाट आइतबारदेखि बर्दियामा ५ दिने निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जानकारी दिनुभयो ।

समुदायस्तरका केही व्यक्तिमा कोरोना संक्रमित भेटिएको र समुदायस्तरमा थप भेटिन सक्ने खतरा बढेको भन्दै सर्तकता अपानाउन नियन्त्रणका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रजिअ अधिकारीले बताउनुभयो । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मास्कको अनिवार्य प्रयोग गर्न पनि सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभयो ।

यस्तै बर्दियामा ८ वटै पालिकाको सहयोग मार्फत पीसीआर परीक्षण उपकरण जडान गर्ने यसअघिको निर्णयलाई तत्काल कार्वान्वयनमा ल्याउन र छिटोभन्दा छिटो पीसीआर जडान जडान गरी पीसीआरको दायरा बढाउने निर्णय गरिएको प्रजिअ अधिकारीले बताउनुभयो ।

निषेधाज्ञाको अवधिमा स्वास्थ्य, सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, दूध तथा दुग्धजन्य पदार्थ, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल तथा तरकारी र खाद्यान्न आपूर्ति सेवा सञ्चालन गर्न पाइने छ । यस्तै एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाला र कूटनीतिक नियोगका सवारी साधन, लामो दूरीका मालवाहक गाडी र सवारी अनुमति पास भएका गाडी पनि सञ्चालनमा रहने छन् ।

यसैबीच बिहीबार एकै दिन बर्दियामा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गेरुवा गाउँपालिकामा ६ जना, बाँसगढी नगरपालिकाकमा ३ जना, बारबर्दियामा २ जना, बढैयाताल गाउँपालिकामा १ र राजापुर नगरपालिकामा १ जना गरि १३ जनामा कोरोना संक्रमित पुष्टि भएको भेरी अस्पताल नेपालगञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV