२२ श्रावण २०७७, बिहीबार
  • सुरेन कुँवर,

चितवन, २२ साउन । चितवन प्रहरीले जिल्लामा हुने सवारी दुर्घटना न्यूनीकरण लागि रात्रिकालीन सवारी चेकजाँच तीव्र पारेको छ ।

लकडाउनका कारण रोकिएको अभियान लकडाउन हटेसँगै पुनः सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

रात्रिकालीन चेकजाँचलाई प्रभावकारी र परिणाममुखी बनाउनका लागि संयुक्त रुपमा सडक सुरक्षा चेकजाँच कार्ययोजना कडाइका साथ लागू गर्दै रात्रिकालीन सवारी चेकजाँच तीव्र पारेको उनले स्पष्ट पारेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयुक्त पहलमा ट्राफिक प्रहरी र जनपद प्रहरीले गत वर्षको माघ २० गतेदेखि ‘सडक सुरक्षा संयुक्त चेकजाँच कार्ययोजना–२०७६’ लागू गरी रात्रिकालीन सवारी चेकजाँच सुरु गरेका थिए ।

‘हामी आफै फिल्डमा खटिएका छौँ । ताकी हाम्रा खटिएका सहकार्मीहरुलाई दुर्घटना न्यूनीकरणमा थप मनोवल बढोस्’ एसपी गुरुङले भने । मुलुककै केन्द्र भागमा पर्ने चितवनमा हरबखत ‘हाइअलर्ट’मा बस्नुपर्ने भएकाले सम्भावित दुर्घटनाहरुको न्यूनीकरण गर्न योजनाबद्ध तरिकाले सडक सुरक्षा संयुक्त चेकजाँच कार्ययोजना ल्याइएको चितवन ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरुमा रातिको समयमा हुनसक्ने सम्भावित सवारी दूर्घटनालाई मध्यनजर गर्दै चितवन ट्राफिकले चालक सचेतना अभियान सुरु गरेको हो ।

नारायणगढ–मुग्लिन सडक र नारायणगढ–लोथर सडकमा रातिको ७ बजेदेखि १२ सम्मको समयमा आलोपालो गर्दै लोथर, खैरहनी, टाँडी, गोन्द्राङ, आँपटारी र मुग्लिङ गरी आठ स्थानमा चेकजाँच गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए ।

रातको समयमा भएका दुर्घटनामा मानवीय क्षती बढी भएको र चालकको लापरवाही, तीव्र गति, चालकले मादक पदार्थ सेवन गरी चलाउने, एउटै चालकले लामो दूरीको सवारी चलाउनेलगायतका कारण दुर्घटना हुने गरेका छन् ।

सवारी व्यवस्थापनदेखि सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्ययोजनासहित प्रहरीले काम गरिरहेको एसपी गुरुङले बताए । उनले भने, ‘रातको समयमा भएको दुर्घटनामा मानवीय क्षती बढी भएको पाइएकोले चेकजांँचमा कडाई गरिएको हो ।’

विगतको तथ्याङ्क हेर्दा रातको समयमा बढी दुर्घटना हुने गरेकाले रात्रिकालीन समयमा झनै चेकजाँच कडा पारिएको चितवनका ट्राफिक प्रमुख दयाकृष्ण भट्टको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV