२२ श्रावण २०७७, बिहीबार
  • मनोज श्रीवास्तव,

कपिलवस्तु, २२ साउन । सदरमुकाम तौलिहवामा रहेको थप ३ वटा बैंक तथा वित्तीय संस्थाका ८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । विहीवार ग्लोबल आईएमई बैंकका ३ जना, गुहेश्वरी मर्चेण्ट बैकिंग एण्ड फाइनान्स लि.का ४ जना कर्मचारीमा संक्रमण देखिएको हो ।

त्यस्तै कृषि विकास बैंकका एक जना कर्मचारीमा पनि कोरोना पुष्टि भएको हो । यी तीनै बैंक विहीवार (आज)बाट सिल गरिएको छ । त्यस्तै मेंगा बैंकका थप एक जना कर्मचारीमा विहीवार पनि संक्रमण पुष्टि भएको छ ।

मेगा बैंकका एक कर्मचारीमा बुधवार संक्रमण पुष्टि भएसँगै शाखा सिल गरिएको थियो । बैंकका सीमित कर्मचारीको रेन्डम स्वाबको नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको प्रजिअ दीर्घनारायण पौडेलले बताए ।

‘हेलमेलमा रहेका कर्मचारीलाई क्वारेन्टाइनमा बस्न भनेका छौं’, उनले भने, ‘उनीहरुको आइतबार स्वाब संकलन गरिने कार्यक्रम छ । संक्रमित सबै होम आइसोलेसनमा बसेका छन् । यसअघि बुधबार सदरमुकाम तौलिहवाका ३ जना र प्रमुख व्यापारिक केन्द्र कृष्णनगरका २ बैंक शाखा सिल गरिएको थियो ।

सदरमुकाम तौलिहवामा रहेका मेंगाका एक, लक्ष्मीका एक र तिनाउ मिसन बैंकका एक महिलासहित २ कर्मचारीमा बुधबार संक्रमण देखिएको थियो । त्यस्तै कृष्णनगरको एभरेष्ट बैंकका एक र नेपाल बैंकका २ कर्मचारीमा पनि संक्रमण देखिएको थियो ।

संक्रमण देखिएको ५ वटै बैंकका शाखा सिल गरिएको मैंगा बैंक तौलिहवा शाखा प्रबन्धक राजेन्द्र शर्माले बताए । ‘लोन, क्यास र ऋण शाखामा काम गर्ने कर्मचारी संक्रमित भएका छन्,’ उनले भने, ‘सेवाग्राहीको सुरक्षाका लागि सबै सेवा बन्द गरेका हौं ।’

अब उक्त बैंकका सबैं कर्मचारीको पीसीआर परीक्षण गराएर अवस्था सामान्य नभएसम्म सेवा बन्द हुने उनले बताए । समुदायस्तरमा कोरोना संक्रमणको अवस्था थाहा लगाउन नमुना परीक्षणका लागि स्वाब संकलन गर्दा बैंकका कर्मचारीमा संक्रमण देखिएको हो ।

सदरमुकाम तौलिहवाका एनआईसी, प्रभु र एभरेष्ट बैंकका कर्मचारीमा गरिएको नमुना परीक्षणको रिपोर्ट अझै आएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV