२२ श्रावण २०७७, बिहीबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज, २२ साउन । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले उपचार गर्न नमान्दा एक व्यक्तिको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं.११ श्रीपुर बस्ने ६४ वर्षीय चलितर महतोलाई नेशनल मेडिकल कलेजले उपचार गर्न नमानेपछि अस्पताल अगाडि मृत्यु भएको परिवारजनले आरोप लगाएका छन् ।

साउन २१ गते बुधबार राति दिसामा रगत देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि उनलाई विहीबार बिहान उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको थियो । उपचारका लागि नेशनल मेडिकल कलेज लगिएको तर भर्ना नलिएका कारण महतोको मृत्यु भएको परिवारजनको दाबी छ ।

विरामी महतोमा कोरोना संक्रमणको लक्षण देखिएतापनि उनीसँग कोरोना संक्रमण नभएको पुष्टि हुने कागजात देखाउँदा पनि अस्पतालले भर्ना लिन नमानेको मृतकका भाई शम्भु महतोको गुनासो छ ।

उनका अनुसार दाईको साउन ११ र १५ गते दुई पटक पीसीआर परीक्षण पनि गराइएको थियो तर रिपोर्ट नेगेटिभ आएको थियो । बुधबार साँझ स्वास्थ्यमा समस्या आएपछि त्यही कागजात लिएर नेशनल मेडिकल कलेज पुगेका भाईले जति प्रयास गरेपनि दाईलाई अस्पतालमा भर्ना गराउन नसकेको गुनासो पोखे ।

उनका अनुसार दाईलाई ज्वरो तथा खोकी रहेको कारण श्वास प्रश्वासमा समस्या आएको थियो । भर्ना गराउन मेडिकल कलेज पुग्दा अस्पतालको गेटमा खटिएका कर्मचारीले अस्पतालका एमडीले भनेपछि मात्रै भर्ना गर्छौ भनेर जवाफ दिएको उनको भनाइ छ ।

दुई दिनअघि हल्का ज्वरो र खोकी लाग्नुका साथै शरीरमा कमजोरी महशुस भएपछि उनलाई नेशनलमै उपचारका लागि लगिएको थियो । तर त्यतिखेर पीसीआर परीक्षण गराएर ल्याउनु भनि फर्काएको महतोले बताए ।

पीसीआर परीक्षणको रिपोर्ट हिजोमात्रै वडाध्यक्षले दिएको कारण बिहीबार (आज) विहान दाईलाई लिएर अस्पताल पुग्दा भर्ना गर्न नमानेपछि अस्पताल बाहिरै दाईको मृत्यु भएको महतोले बताए । यसबारे नेशनल मेडिकल कलेजका डा.असरफ हुसैनले पीसीआर रिपोर्ट लिएर आएका बिरामीलाई उपचार नगरी फर्काइएको कुरामा सत्यता नभएको बताए ।

उनले पीसीआर रिपोर्ट नेगेटिभ आएका बिरामीलाई नफर्काइएको भन्दै यो सरासर झुठो रहेकोले अस्पताललाई बद्नाम गराउन खोजिएको दावी समेत गरे ।

बिहीबार मात्रै जिल्ला प्रशासन कार्यालय पर्साले निजी अस्पताललाई नागरिकको जनस्वास्थ्यमा खेलवाड नगर्न सूचना आह्वान गरेसँगै त्यही दिन मेडिकल कलेजले उपचार नगर्दा विरामीको मृत्यु भएकोले प्रशासनको आदेशलाई ठाडो चुनौती दिएको प्रष्ट हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV