२२ श्रावण २०७७, बिहीबार

लमजुङ, २२ साउन । पहाडी र हिमाली जिल्ला जोड्ने बेँसीशहर चामे सडक बाढीले बगाएको छ ।

बुधबार साँझदेखि परेको अविरल वर्षासँगै आएको बाढीले आज बिहान लमजुङ–मनाङ जोड्ने सो सडकखण्डअन्तर्गत लमजुङस्थित मस्र्याङ्दी गाउँपालिका–४ मा रामबजार खोलाले सडक बगाएको हो ।

सो खोलामा आएको बाढीले करिब १५/२० मिटर नै सडक बगाएको डुम्रे–बेँसीशहर चामे सडक योजना कार्यालयका सवइन्जिनियर सुमन अधिकारीले बताए ।

त्यस्तै उक्त सडकखण्डअन्तर्गत नै सो गाउँपालिकाको घोप्टेभीरको भाप्राखोलामाथि राखिएको ह्युमपाइप बगाएको छ । उहाँका अनुसार गत वर्ष सवारी सञ्चालनका लागि राखिएका छ वटै ह्युमपाइप बाढीले बगाएको छ ।

बेँसीशहर चामे सडक ६५ किलोमिटरको छ । यस वर्षसमेत सो सडकका विभिन्न स्थानमा दर्जनौँ पटकपटक पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । विगतका वर्षसमेत वर्षायाममा वर्षेनी सडक अवरुद्ध बनाएको थियो ।

सडकका विभिन्न स्थानमा सानासाना पहिराले सडक साघुँरो र हिलाम्मे हुँदा यात्रा जोखिमपूर्ण बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV