२२ श्रावण २०७७, बिहीबार
  • घनश्याम मिश्र

जनकपुरधाम, २२ साउन । कोरोना संक्रमण पुष्टि भइसकेका प्रदेश दुईका मन्त्रीले प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षकसम्म भेट गरेर जनकपुरधाम फर्केको पाइएको छ ।

बुधबार साँझ प्रदेश दुईका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना पुष्टि भएको हो । मन्त्री यादव पछिल्लो हप्ता मात्रै ‘भीभीआइपी’ व्यक्तिहरुसँग भेट गरेर काठमाडौबाट जनकपुरधाम फर्केका थिए ।

मन्त्री यादव बालुवाटारमा संगठन तथा ब्यवस्थापन सर्वेक्षण प्रस्ताब पारित गर्दै प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सहभागी भएका थिए । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा, सातै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृह मन्त्रीका सल्लाहकारद्वय , प्रहरी महानिरीक्षक लगायतको सहभागितामा बैठक सम्पन्न भएको थियो ।

मन्त्री यादव ५ दिन अगाडि मात्रै सिरहामा पार्टी प्रवेश कार्यक्रममा समेत सहभागिता जनाएका थिए । साउन १७ गते आयोजित पार्टी प्रवेश कार्यक्रममा मन्त्री यादवसंगै जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराई तथा उपेन्द्र यादवको समेत सहभागिता रहेको थियो ।

मन्त्री यादव साउन १८ गते काठमाडौँबाट फर्केर १९ गते स्वाब संकलन गराउँदा बुधबार साँझ उनको रिपोर्ट पोजिटिभ आएको हो । रिपोर्ट पोजिटिभ आएपछि उनी मन्त्री निवासमै आइसोलेट भएका छन् । यता मन्त्री यादव संक्रमित कहाँ कसरी भए वारे जानकारहरु कन्टयाक्ट र ट्रेवल ट्रेस गरिरहे पनि यकीन भन्न सक्ने अवस्था नआएको बताइएको छ । संक्रमित भएका मन्त्री र सांसदहरु सरकारले तोकेको स्थानमा न बसेर डाक्टरको सल्लाहमा सरकारी आवास मैं आइसोलेट भएका छन ।

यस विषयलाई लिएर यतिबेला सामाजिक सञ्जालमा टिका टिप्पणी समेत सुरु भएको छ । मन्त्री सरकारी क्वाटरमा र गरीव प्रदेशवासी सरकारले तोकेको क्वारेन्टाइन र आइसोलेसन यो कहाँ को कानून हो भन्दै यति बेला प्रदेश २ मा चर्चाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV