२२ श्रावण २०७७, बिहीबार
  • हरिशंकर शर्मा

वीरगन्ज (पर्सा), २२ साउन । मुलुक कोरोना महामारीसँग जुद्धि रहेको बेला वीरगन्ज अहिले कोरोनाको हटस्पटको रुपमा परिचित हुन पुगेको छ । केही दिनयता वीरगन्जमा दैनिक एक, दुई दर्जन हुँदै सयौंको संख्यामा संक्रमितहरु पुष्टि हुन थालेका छन् । वीरगन्जको नारायणी अस्पताल स्थित प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा बुधबार मात्रै १ सय ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । वीरगन्जमा यतिको संख्यामा संक्रमितहरु पुष्टि भएको पहिलो दिन हो ।

यसले गर्दा अहिले वीरगन्जमा त्रासको अवस्था सृजना भएको छ । दिनप्रतिदिन कोरोना संक्रमणहरुको संख्या बढेसँगै वीरगन्जलाई अहिले ‘कोरोनागन्ज’ को रुपमा चिनिन् थालिएको छ । नेपाल भारत खुल्ला सिमाना भएको कारण दिनहुँ सयौंको संख्यामा सर्वसाधारणहरु नेपाल भारत आवतजावत गरेको कारण वीरगन्जको समुदाय स्तरमा नै कोरोना संक्रमण फैलिएको भन्दै विरोध पनि भएको थियो ।

वीरगन्जमा समुदाय स्तरमा फैलिएको कोरोना संक्रमण नियन्त्रण गर्नका लागि खटिएको सांसददेखि जनजप्रतिनि, चिकित्सक, सेना, प्रहरी लगायतका व्यक्तिहरु पनि कोरोनाको चपेटामा परि सकेका छन् । अहिले वीरगन्जका मेयर विजय सरावगी, पर्सा क्षेत्र नं. १ का सांसद प्रदीप यादव लगायत दर्जनौंको संख्यामा नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीहरु संक्रमित भएका छन् । यस अवस्थामा वीरगन्जलाई अब ईश्वर नै बचाउने भनेर कतिपयले प्रार्थना सहित सामाजिक सञ्जालमा प्रतिक्रियाहरु पनि दिन थालेका छन् ।

दिन प्रतिदिन वीरगन्जको अवस्था भयावह हुँदै गएको छ । लक्षण सहितको संक्रमितहरु पुष्टि हुनुका साथै १५ जना संक्रमितहरु पनि ज्यान गुमाई सकेका छन् । जसले गर्दा उपचारमा संलग्न चिकित्सकहरु पनि त्रासमा छन् । आइसुलेशनको अभाव तथा उपचारमा उचित स्यार सुसार हुन नसकेका कारण संक्रमितहरु झन संक्रमित भई ज्यान गुमाउनुपर्ने हो कि भन्ने चिन्ताले सताएको छ ।

महामारीको बेला एम्बुलेन्स पनि वेपत्ता

यस महामारीको बखत सर्वसाधारण नागरिकको जीउ ज्यानसँग प्रत्यक्ष सरोकार राख्ने एम्बुलेन्स पनि वेपत्ता भएको छ । वीरगन्जमा रहेका दुई दर्जन भन्दा बढी अस्पताल अगाडि दिनहुँ आधा दर्जन एम्बुलेन्स पार्किङ्ग गरेर राखेको भेटिएतापनि अहिले बोलाउँदा पनि एम्बुलेन्स आउन मानि रहेको अवस्था छैन । सधैं विरामीलाई बोक्न लछाड पछाड गर्ने एम्बुलेन्स चालकहरु अहिले महामारीको बखत मोबाइल स्वीच अफ गरेर वेपत्ता भएका छन् ।

वीरगन्जमा समुदाय स्तरमा कोरोना फैलेसँगै यहाँका अधिकाँश अस्पतालहरु पनि सिल गरिएको छ । अस्पतालमा उपचारको क्रममा ज्यान गुमाएकाहरुमा कोरोना संक्रमण पुष्टि भएपछि अर्थात कोरोना संक्रमण पुष्टि भएर मृत्यु भएका अस्पतालहरुलाई प्रशासनले सिल गरेको छ । अहिले नेशनल मेडिकल कलेज तथा तराई अस्पताल संचालनमा रहेको छ । नारायणी अस्पताल पछाडि खाली ठाउँमा दिनहुँ दर्जनौं एम्बुलेन्सहरु पार्किङ्ग गरेर राखिएको अवस्थामा अहिले एउटा पनि एम्बुलेन्स हेर्नको लागि पनि नपाउने अवस्था छ ।

चालकको नम्बरमा फोन गर्दा कसैको स्वीच अफ, त कसैको फोन नै नउठ्ने अवस्था छ । कसैको फोन उठेपनि कस्तो खाले विरामी हो ? समस्या के छ ? कहाँदेखि कहाँसम्म जानु छ ? लगायतका विभिन्न सोधपुछ गरि मात्रै जाने नजाने निर्णय गरि रहेका छन् । कोही गएपनि आनाकानी गरेर मात्रै गइरहेको अवस्था छ । जिल्ला प्रशासन कार्यालय पर्साले एम्बुलेन्स चालकहरुलाई महामारीको बेला सहयोग गर्ने भनेपनि चालकहरु मानेको अवस्था छैन ।

सधैं मानवीय कार्यमा संलग्न रहेको भनेर प्रचारवाजी गर्दै आएका नेपाल रेडक्रस सोसाइटी पनि अहिले हराएको अवस्था छ । रेडक्रस सोसाइटीको मातहतमा पनि केही एम्बुलेन्सहरु रहेका छन् तर तिनीहरु पनि अहिले देखा परि रहेका छैनन् ।

एम्बुलेन्सको भार अटो रिक्साले थेग्दै

वर्तमान कोरोना महामारीको बेला एम्बुलेन्सको भार तीन चक्के अटो रिक्साले थेग्दै आएको छ । इमर्जेन्सीको बखत एम्बुलेन्सहरु उपलब्ध हुन नसकेको कारण गाउँ घरमै रहेको तीनचक्के अटो रिक्साले अहिले विरामीलाई अस्पतालसम्म पु¥याउने गरेका छन् । वीरगन्ज यातायात व्यवस्था कार्यालय अगाडि रहेको तराई अस्पतालमा अहिले एम्बुलेन्सको सट्टा आधा दर्जन भन्दा बढि अटोहरु अस्पताल हाताभित्र पार्किङ्ग गरेको देख्न सकिन्छ ।

वीरगन्जमा केडिकल कलेज तथा तराई अस्पताल मात्रै संचालनमा रहेको अवस्थामा दुबै अस्पताल अगाडि विरामी बोक्नको लागि एम्बुलेन्सको सट्टा अटो रिक्सा पार्किङ्ग गरि रहेको देखियो ।

यसरी महामारीको बखत आफ्नो दायित्वलाई एम्बुलेन्स चालकहरुले विर्सेपछि बाध्य भएर विरामीहरुले अटो रिक्साको प्रयोग गर्नुपरेको छ । अन्य बेला विरामी बोक्न तछाड मछाड गर्ने एम्बुलेन्स चालकहरु महामारीको बखत वेपत्ता भएपछि सम्बन्धित निकायले पक्कै कारवाही गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV