२१ श्रावण २०७७, बुधबार
  • घनश्याम मिश्र

जनकपुरधाम, साउन २१ । भारतको अयोध्यामा वर्षौंको प्रतिक्षापछि राम मन्दिरको शिलान्यास गरिएको खुसियालीमा जनकपुरधाममा भव्य दीपोत्सव भएको छ ।माता सीताको ससुराली अयोध्यामा मन्दिरको शिलान्यास भएको अवसरमा खुसी व्यक्त गर्दै जनकपुरधामको जानकी मन्दिरसहित नगरमा दीपावली मनाइएको हो ।भारतको सर्वोच्च अदालतले अयोध्यामा राम मन्दिर निर्माणका लागि आदेश दिएपछि त्यहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चाँदीको ईटा राखेर राम मन्दिरको शिलान्यास गरेका छन् । सोही अवसरमा जानकी मन्दिरमा सीतारामको नारासहित जानकी मन्दिरका पूजारीहरुले मन्दिर परिसरभरी दीप प्रज्वलन गरेका थिए ।यता जानकी चोकका युवाहरुले समेत चोकमा जय श्री सीयारामा लेखिएको रंगोली बनाएर दीप प्रज्वलन गरेका छन् । अयोध्यामा रामको मन्दिरको शिलान्यास हुनु सम्पूर्ण मिथिलावासीका लागि खुसीको अवसर रहेकोले आफूहरुले दीपोत्सव गरेको युवा सुशिल कर्णले बताए । युवाहरुले चोकमा रंगोली बनाउनुका साथै सडक पेटी भरी दीप प्रज्वलन गरेका थिए ।यस अघि अयोध्यामा राम मन्दिरको शिलान्यास भइरहँदा जानकी मन्दिरमा रामधुन बजाइएको थियो । राम मन्दिरको भूमि पुजनको खुशियालीमा जानकी मन्दिरमा भजन किर्तन भएको जानकी मन्दिरका पुजारी ऋषिकेश झाले बताए । राम मन्दिरको भूमि पुजनमा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव समेत सरिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV