२१ श्रावण २०७७, बुधबार
  • निमेन्द्र शाही,

बाजुरा, २१ साउन । बाजुराको पूर्वीउत्तर क्षेत्रका चार वटा नगरपालिकामा खाद्य सङ्कट सुरु भएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेडको कोल्टी डिपो र कवाडी डिपोमा दुई महिनादेखि खाद्य सामग्री रिक्त हुँदा संकट बढ्दै गएको छ ।

बाजुराका ४ वटा स्थानीय तहमा खाद्य संकट भएको छ । कामका लागि भारत तथा देशका विभिन्न स्थानमा गएकाहरु कोरोनाका कारण गाउँ फर्किएपछि खाद्यन्नको अभाव भएको स्थानीयको भनाइ छ ।

यसअघिका वर्षमा आफन्तहरु कामको लागि कोही भारत कोही देशका विभिन्न स्थानमा हुने भएता पनि यसवर्ष भने सबै गाउँ फर्किएको र खाद्य डिपोमा खाद्यान्न मौज्दात नहुँदा खानाको समस्या भइहरको स्थानीयको दुखेसो छ ।

गाउँभरि नै खाद्यान्न सकिएपछि कोरोनाको त्रास भोगिरहेका बाजुरावासीलाई रोग भन्दा भोकमरीको चिन्ताले सताउन थालेको छ । बाजुरामा ४० प्रतिशतभन्दा धेरै मानिसलाई आफ्नो उत्पादनले तीन महिना पनि खान नपुग्ने अवस्था छ ।

त्यसैले खाद्य लिमिटेडको चामल नपुगेमा गाउँमा भोकमरी हुने निश्चित देखिन्छ । वार्षिक ११ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने कृषि कार्यालयको तथ्यांक छ । खाद्यान्न आपुर्ति नगर्ने हो भने ठुलो समस्या आउने कृषि ज्ञान केन्द्र बाजुराको भनाइ छ ।

यता जिल्ला प्रशासन कार्यालय बाजुराले भने वर्षाका कारण सडक अवरुद्ध भएकाले खाद्यान्न ढुवानी नर्ग नसकेको भन्दै पन्छिन खाजेको छ । तत्काल अवरुद्ध सडक संचालन गर्ने सम्भावना नभएकाले हवाई सेवाबाट खाद्यान्न ढुवानी गर्नुपर्ने प्रशासनको भनाइ छ ।

बाजुराको क्षेत्रफलको ९ दशमलव २१ प्रतिशत जमिन मात्रै खेतीयोग्य छ । त्यसमा पनि एक दशमलव चार प्रतिशत जमिनमा मात्रै सिँचाइको सुविधा छ । खाद्यान्न उत्पादन नै थोरै हुँदा साउन र भदौमै खाद्यन्न अभाव सुरु हुन्छ ।

यो वर्ष त सडक तथा कोरोना महामारीको कारण देखाउँदै लिमिटेडले खाद्यन्न ढुवानी नगरेपछि अब के खाने भन्ने समस्या बाजुरावासीको अगाडि छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV