२१ श्रावण २०७७, बुधबार
  • रिया भण्डारी,

काठमाडौं, २१ साउन । कोरोनो संक्रमणको जोखिम देशभर बढ्न थालेपछि पुनः लकडाउनको चर्चाले सबैको ध्यान खिचेको छ । देशका १४ जिल्लामा निषेधाज्ञा जारी भएसंगै यो चर्चामा बल पुगेको छ नै ।

कुनै औषधीय उपाय नजुरेको अवस्थामा विश्वले नै लकडाउनलाई महत्वपूर्ण हतियार बनाइसकेका बेला के नेपाल पुनः लकडाउनमा जाला त यो प्रश्नले अहिले सबैलाई सताएको छ ।

गत बर्षको चैत ११ गतेदेखि नेपालमा लागू गरिएको लकडाउनले बिभिन्न चरण भोग्दै ८० दिन विताएपछि केही खुुकुलो हुने अवसर पायो । तर १ सय २० पछि पूर्णरुपमा लकडाउन हटेपछि कोरोनाको त्रासले भने यो देशलाई झनै गाँज्दै गएको छ ।

लकडाउन गर्नु नै उपलब्धि ठान्ने सरकारको गल्तीले अहिले आएर केही जिल्ला सरकारी कार्यालय र पसल बजार केही पनि नखुलाउने गरी ‘सटडाउन’मा जाने घोषणा गरिसकेका छन् । गृहमन्त्रालयका अनुसार बुधबार साँझसम्म देशका १४ जिल्लाले निषेधाज्ञा जारी गरेर कोरोनाविरुद्ध संघर्षको अर्को अध्यायको आरम्भ गरेका छन् ।

जोखिम बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा मंगलबार बोलाइएको विज्ञहरुसहितको सर्वपक्षीय छलफलमा लकडाउन गर्नु पर्छ र पर्दैन भन्नेहरुको मत बाझिएको थियो ।

छलफलमा प्रधानमन्त्री ओलीले थप परामर्श गरेर लकडाउन गर्ने या नगर्ने भन्ने बारेमा निर्णय लिने बताउनु भएपनि सरकार तत्काल मुलुकलाई लकडाउनमा लाने सोंचमा नरहेको बताइएको छ ।

यस अघि गरिएको लकडाउनमा धेरै गल्ती भए र गरिए । लकडाउनकाबीचमा भएका सरकारी र राजनीतिक गतिविधिहरुले लकडाउनको मर्मको नै उपहास गरेको प्रष्ट देखियो ।

लकडाउनमा सडकमा नै नाराबाजी भए गराइए । यही कारणले पनि अब काठमाडौं उपत्यकालाई लकडाउनमा नभइ सटडाउनमा लगेर सरकारी कार्यालय, राजनीतिक गतिविधि र पसलबजार ठप्प पार्नु पर्ने सुझाव पनि प्रधानमन्त्री ओली समक्ष मंगलबार पेश हुँदा उनको अनुहार अमिलो बन्नु स्वभाविक थियो नै ।

झ्यालढोका खुल्ला राखेर कोठाको लामखुट्टे मार्ने सरकारी शैलीको लकडाउनले संघीय राजधानी काठमाडौं उपत्यका ठूलो जोखिमको संघारमा उभिएको छ ।

अहिले पनि हरेक दिन २७ सयदेखि ३ हजारको हाराहारीमा सवारी साधनहरु काठमाडौं भित्रिरहेको तथ्यांक महानगरीय ट्राफिक प्रहरी महाशाखाको ढड्डामा सुरक्षित छ ।

प्रत्येक सवारीमा कम्तिमा दुई व्यक्ति काठमाडौं उपत्यका प्रवेश गरिरहेका छन् । उपत्यका प्रवेश गर्ने नाकाबाट भीआइपी संक्रमितको पनि सवार भइरहेको पछिल्लो साताको घटनाले छर्लङ्ग पारेको छ।

उता दक्षिणतिरको नाका बन्द गरिएको भएपनि विश्वमा नै कोरोनाको नयाँ हटस्पट बनिरहेको भारतबाट आउनेहरुलाई कुनै पर्खालले नरोक्दा तराईका जिल्लाहरु समुदायमा नै कोरोनाको त्रास भोग्न विवश बनाइएका छन् । यही दृश्य र परिदृश्यले लकडाउनको उपहास फेरि गर्ने या सुरक्षामा कठोर उपाय अपनाउने ?

प्रतिक्रिया दिनुहोस्

LIVE TV