२१ श्रावण २०७७, बुधबार
  • जितेन्द्रकुमार झा

राजविराज, २१ साउन । मंगलवार सप्तरीमा मृत्यु भएका तीनै जना मृतकको पीसीआर जाँचका लागि बुधवार स्वाब संकलन गरिएको छ । तीनै जना मृतकमा कोरोना संग मिल्दो जुल्दो लक्षण देखिएपछी उनीहरूको अन्तिम संस्कारलाई रोकेर पीसीआर परीक्षणका निम्ती स्वाब लिईएको हो ।

सुरुमा रिपोर्ट आएपछी मात्रै मृतकहरूको अन्तिम संस्कार गर्ने भनिए पनि रिपोर्ट आउन कम्तीमा एक दिन कुर्नु पर्ने तथा यस्तो गर्मीमा शव राख्नु पनी उपयुक्त नरहेको निष्कर्ष सहित स्वाब संकलन पश्चात उच्च सतर्कताकासाथ शव व्यवस्थापनका लागि जिम्मा लगाइएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनीयालाल यादवले जानकारी दिनुभयाे ।

स्थानीय प्रहरी र जनप्रतिनिधिको निगरानीमा परिवारजनले शवको दाहसंस्कार कार्य गर्ने जनस्वास्थ्य प्रमुख यादव को भनाई छ । यादवका अनुसार सतर्कताका लागि शव बोक्ने ४ जना तथा दागवत्ती दिने एक जना गरी पाँचै जनाले पीपीई लगाएर दाहसंस्कार गर्नेछन् ‌।

स्वाब परीक्षणको रिपोर्ट आएपछि मात्रै उनीहरुमा संक्रमण रहेको वा नरहेको विषयमा केही खुल्नसक्ने भएको हुदा हाललाई शव बोक्नेदेखि दागवत्ती दिने तथा मलानीमा सहभागी हुने सवै जनालाई होम क्वारेन्टाइनमा बस्नुपर्ने अनिवार्य गरिएको जनस्वास्थ्य प्रमुखको भनाई छ ।

यता उपचारको क्रममा दुई जनाको मृत्यु भएको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा बाहिरी आवागमन निषेध गरिएको छ । अस्पतालमा भर्ना भएका राजगढ गाउँपालिकाका ७१ वर्षीय तथा डाकनेश्वरी नगरपालिका वडा नं ९ का ८० वर्षीय वृद्धको मृत्यु भएपछि कोरोनाको आशंका गरी अस्पतालमा बाहिरी आवागमन निषेध गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रवक्ता आनन्द ठाकुरका अनुसार तत्काललाई अस्पताल भित्रको मानिसहरु भित्रमै रहने छन तथा बाहिरका कसैला पनि प्रवेश दिईने छैन । मृतकहरूको पिसिआर रिपोर्ट नआए सम्म अस्पतालमा वाहिरी आवागमन निषेध गरिएकाे छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV