२१ श्रावण २०७७, बुधबार
  • रामगोपाल तमखु,

भक्तपुर, २१ साउन । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी मध्यपुर थिमि नगरपालिका बोडेको ऐतिहासिक ‘नीलबाराही नाच’ बुधबारबाट रातिको समयमा मात्र प्रदर्शन गरिने भएको छ ।

तीन दिन चार रातसम्म चल्ने ‘नीलबाराही नाच’ यो वर्ष भने राति १० बजेपछि मात्रै सञ्चालन गर्ने निर्णय भएको हो । मध्यपुर थिमि नगरपालिका वडा नंं ८ का अध्यक्ष देव कृष्ण मोया श्रेष्ठले कोरोनाको जोखिमलाई मध्यनजर गरी यो वर्ष नाचलाई राति मात्र प्रदर्शन गर्ने निर्णय भएको बताए ।

उनले भने, ‘दिउसोको समयमा नाच निकालियो भने बोडे बाहिरका धेरै भक्तजनहरुको भीड लाग्छ । कोरोना भाइरसको जोखिम कम होस् भने उद्देश्यले दिउसो नदेखाउने निर्णय गरिएको छ । स्थानीय मात्र हुँदा भीड पनि कम हुन्छ । यो वर्ष बुधवार राति १० बजेदेखि विहान ४ बजेसम्म नाच हुनेछ ।’

नीलबाराही नाच हरेक वर्ष गाईजात्राको भोलिपल्टको मध्यरातिबाट सुरु हुने परम्परा रहेको छ । नाचमा १९ जना देवता रहने छन् । यसमा भैरव एकजना, बाराही चारजना, कुमारी चारजना, सिंह चारजना, द्वारपाल दुईजना, गणेश चार जनाको सहभागिता रहने गर्दछ ।

नाच अवधिभर प्रत्येक देवताका लागि एकजना सहयोगी आवश्यक पर्दछ । यी सहयोगीहरु नाच अवधिभर देवतासँगै रहनु पर्दछ । सहयोगीले देवताले भनेको सबै काम गरिदिनुका साथै मुकुट राख्न लाने, ल्याउने, देवतालाई बोक्नेसम्मको सहयोग गर्नुपर्ने सहयोगी सुनाउँछन् ।

सहयोगीका अनुसार नाच प्रदर्शनका क्रममा बालिने सुकुन्दा निभ्नु दिनुहुँदैन । निभेमा देवता बनेका ब्यक्तिलाई पेट दुख्ने, बान्ता हुने लगायतको विश्वास छ । देवता बन्ने व्यक्ति थाकेमा सहयोगीले आफ्नो काखमा बसाल्नु पर्दछ, भुँईमा बसाउनु हुदैन भन्ने चलन पनि रहेको छ ।

देवता बन्नेले नाँच अवधिभर बोल्नु हुँदैन । केही कुरा भन्नु परे इशारा गरेर मात्र गर्न सकिने चलन रहँंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV