नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुग्यो : स्वास्थ्य मन्त्रालय



प्रकाशित मिति : Aug 05, 2020

काठमाडौं, २१ साउन । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । पर्सामा १८ वर्षीया किशोरी र ४५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएसँगै संख्या ६० पुगेको हो ।

नेशनल मेडिकल कलेजमा कार्यरत मधुमेह तथा मुटु रोगले ग्रसित ४५ वर्षीय पुरुषको उपचारको क्रममा आज विहान हेल्थ केयर अस्पतालमा मृत्यु भएको थियो ।

मृतक पुरुष अस्वस्थ्य भई उपचारको लागि नेशनल मेडिकल कलेजमा सोमबार भर्ना भएकोमा उनको मंगलबार राति रिपोर्ट पोजिटिभ आएको थियो ।

त्यसपछि उपचारको लागि अस्थायी कोभिड अस्पताल हेल्थकेयरमा भर्ना गरिएको थियो । तर, उपचारको क्रममा आजविहान मृत्यु भएको हो ।

यसअघि सोमबार राति ज्यान गुमाएकी पर्साको पोखरीया–८ निवासी एक किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरीया नगरपालिका स्थित जगतरपुरमा घर भएपनि वडा नंं.९ मा रहेको आफ्नो मामाघर बस्दै आएकी थिइन् ।

झाँडापखालाले ग्रसित १८ वर्षीया किशोरीको स्वास्थ्य अवस्था विग्रदै गएपछि उपचारका लागि नेशनल मेडिकल कलेज लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मृत्यु पश्चात उनको स्वाब संकलन गरी परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएकोमा मंगलबार राति उनको रिपोर्ट पोजिटिभ आएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com