२१ श्रावण २०७७, बुधबार
  • बसन्त खतिवडा,

बारा, २१ साउन । बुद्ध एयरको एटीआर ७२,५०० सिरिजको जहाजले आज बाराको सिमरा विमानस्थलमा परीक्षण उडान गरेको छ । काठमाडौंबाट १७ जना प्राविधिकसहितको टोली लिएर बारा आएको बुद्धको जहाजले दक्षिण र उत्तर गरी दुवै तर्फबाट उडान तथा अवतरण गरी सफलता पूर्वक परीक्षण उडान गरेको विमानस्थल कार्यालय, सिमराका प्रमुख बसन्त गौतमले बताए ।

यस अघि बुद्धका एटीआर ४२,३२० सिरिज र विच १९ डी एयरक्र्याफ्टले मात्र सिमरा विमानस्थलमा सेवा प्रदान गरिरहेको थियो । चैत ११ गते अघि दैनिक ७ वटा सेड्युलबाट नियमित उडान गर्दै आएको बुद्धले भदौ १ गतेदेखि हुने उडानका लागि ७२ सिटे एटीआर ७२ ले उडान भर्न लागेको बुद्ध एयर सिमरा कार्यालयले जनाएको छ ।

नेपालकै सबै भन्दा पूरानो सिमरा विमानस्थलको लम्बाई १,१९० मिटर रहेको छ । औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाडौं छोटो दूरीको उडानका कारण समेत सिमरा विमानस्थल सधै भीडभाड हुने गर्दछ ।

चैत ११ गतेअघि ३१२० रुपैया भाडादर तय गरेको बुद्धले भदौ १ गतेदेखि काठमाडौं सिमरा उडानका लागि २,९०५ रुपैया भाडादर समेत तय गरेको बुद्ध एयर सिमराका प्रमुख सुरेश रेग्मीले जानकारी दिए ।

सिमरा विमानस्थलले सामाजिक दूरीदेखि सुरक्षाका अन्य कार्यको समेत पूर्ण तयारी गरेको जनाएको छ । बुद्ध एयर बाहेक नेपाल एयरलाइन्स र श्री एयरलाइन्सले समेत काठमाडौं सिमरा उडान भर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV