२१ श्रावण २०७७, बुधबार

काठमाडौं, २१ साउन । भारतको सर्वोच्च अदालतले उत्तर प्रदेशको अयोध्यामा राम मन्दिर निर्माणका लागि आदेश दिएसँगै त्यहाँ राम मन्दिर निर्माण कार्य सुरु गरिएको छ । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशको अयोध्या पुगेर ‘राम जन्मभूमि मन्दिर’को भूमि पूजन अर्थात शिलान्यास गरेका छन् ।

प्रधानमन्त्री मोदीले मन्त्रजप (मन्त्रोच्चारण) गर्दै ‘राम जन्मभूमि मन्दिर’को शिलान्यास सम्पन्न गरेका हुन् । शिलान्यास कार्यक्रममा प्रधानमन्त्री मोदीको साथमा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)का प्रमुख मोहन भागवत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र राज्यपाल आनंदीबेन पटेल पनि उपस्थित थिए ।

प्रधानमन्त्री मोदीले मन्दिरको आधारशिला राखेपछि पूजन संकल्पको दौरान पुरोहितले भने, ‘जुनसुकै यज्ञमा दक्षिणा महत्वपूर्ण हुन्छ । आज मात्रै पनि अर्बौंको अशिर्वाद प्राप्त भएको छ ।’ भारतीय सञ्चारमाध्यमका अनुसार कोरोना महामारीका कारण प्रधानमन्त्री मोदी र पूजा गरिरहेका पण्डितहरुबीच सामाजिक दूरी कायम गरिएको थियो ।

त्यस्तै, मन्दिरको शिलान्यास कार्यक्रममा उपस्थित सबै अतिथिहरुले पनि सामाजिक दूरी कायम गरिरहेका बताइएको छ । भगवान श्रीराम जन्मभूमि परिसरमा पूजा गर्नु अगावै मोदीले रामललाको दर्शन गरेका थिए । जहाँ उनले साष्टांग भएर रामललाबाट आर्शीवाद लिएका थिए ।


विशेष गरी रामलला विराजमान (बसेका) ठाउँमा मोदीले भूमिपूजन गरेका जनाइएको छ । जहाँ उनले ९ वटा शिलाहरु राखेर ‘राम जन्मभूमि मन्दिर’को आधारशिला राखेका हुन् । एक सय पचास जना साधुसन्तलाई साक्षी राखेर ‘राम जन्मभूमि मन्दिर’को शिलान्यास गरिएको जानकारी गराइएको छ ।

भूमि पूजन स्थलमा मुख्यमन्त्री योगीको सम्बोधन

मन्दिरको भूमि पूजन कार्यक्रमपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लामो समयपछि १३५ करोड भारतीय जनताका् संकल्प पूरा भइरहेको बताए । त्यस्तै, उनले सम्बोधन गर्दै अयोध्यामा लोकतान्त्रिक तरिकाबाट नै मन्दिरको निर्माण कार्य भइरहेको पनि बताए ।

उनले प्रधानमन्त्री मोदीको लामो समयसम्मको संघर्ष र प्रयासपछि राम मन्दिर निर्माणको संकल्प पूरा भइरहेको बताए । उनले भने, ‘हामीले तीन वर्ष पहिले अयोध्यामा दीपोत्सवको कार्यक्रम सुरु गरेका थियौं । आजको त्यसको सिद्धी भइरहेको छ । सरकारले पहिल्यै रामायण सर्किटको काम सुरु गरिसकेको छ । साथै, आज अयोध्यामा विकास कार्य पनि भइरहेको छ ।’

आज आनन्दको क्षण : संघ प्रमुख मोहन भागत

भूमि पूजन कार्यक्रममा उपस्थित संघ प्रमुख मोहन भागतले आजको दिन भारतीयको लागि आनन्दको क्षण भएको बताएका छन् । उनले भने, ‘सुरुमा एक संकल्प लिएको थिए, कि २०–३० वर्ष काम गर्नुपर्छ । त्यसमा यस काम पनि गर्नुपर्छ भन्ने थियो । आज ३० सालको सुरुवातमा यस काम सुरु भएको छ । कोरोना महामारीका कारण आज कयौं मान्छेहरु यहाँ आउन सकेनन् ।’

त्यस्तै, राम जन्मभूमि ट्रष्टका प्रमुख महन्त नृत्यगोपाल दासले तन, मन र धन दिएर मन्दिर निर्माण कार्य पूरा गर्नुपर्ने बताए । उनले भने, ‘एक तर्फ मोदी र अर्को तर्फ योगी । अहिले मन्दिर बनेन भने कहिले बन्छ ? मन्दिर निर्माणको काम तीब्र रुपमा अगाडि बढाउनुपर्छ ।’ उनले थपे, ‘यस मन्दिर निर्माण एक नयाँ भारत निर्माण हो । यसलाई चाँडो भन्दा चाँडो पूरा गर्नुपर्छ ।’

अयोध्यामा राम मन्दिरको भूमि पूजन कार्यक्रममा नेपालका तर्फबाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव पनि अयोध्या पुगेका छन् । उपहार स्वरुप ‘राम सीता’ अंकित एक–एक किलोको ५ वटा चाँदीको ईटा लिएर भारतको अयोध्या पुगेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV