२१ श्रावण २०७७, बुधबार
  • अमर काफ्ले

इनरुवा, २१ साउन । सुनसरीको इनरुवाका एक सकृय नेतामा कोरोना संक्रमण पुष्टि भएसँगै सयौं अन्य नेताहरु होम क्वारेन्टाइनमा बसेका छन् । संक्रमण पुष्टि भएका व्यक्ति नेपाली कांग्रेस इनरुवाका सकृय नेता हुन् ।

कोरोना पोजिटिभ पाइएका व्यक्ति योगेन्द्रप्रसाद मेहता स्वयंले आफुमा संक्रमण देखिएको बताउँदै आफ्नाे सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

मेहतामा संक्रमणको खबर फैलिएसँगै उनीसँगको नियमित सम्पर्कमा रहेका जिल्लातहका धेरैजसो नेता होम क्वारेन्टाइनमा बसिसकेका छन् ।
महाधिवेशन लक्षित विधान सम्वन्धि प्रशिक्षण कार्यक्रममा मेहता अन्य नेतासँगै गाउँगाउँ र वडा सम्म पुगेका थिए ।

दैनिकी उठबस, हिंडडुल र कार्यक्रममा सहभागिताको आधारमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै धेरैजसो नेता कार्यकर्ताहरु स्वतः होम क्वारेन्टाइनमा बसेका हुन् ।

होम क्वारेन्टाइनमा बस्नेहरुमा स्थानीय नेता तथा कार्यकता देखि जिल्ला, प्रदेश र केन्द्रमा प्रतिनिधित्व गर्ने सम्म रहेका छन् । कार्यकर्ता प्रशिक्षणका लागि सँगै हिंडेका र प्रशिक्षणमा सहभागी भएकाहरु बढी होम क्वारेन्टाइनमा बसेका छन् ।

ट्रेसिङको फेहरिस्त लामो देखिएपछि नगरपालिकाले नगर क्षेत्रमा लकडाउननै लगाएको छ । अघिल्लो दिन प्रहरी जवानमा कोरोना भेटिएको थियो । दोस्रो दिन स्थानीय नेतामा संक्रमण पुष्टि भएसँगै जोखिम बढेको भन्दै इनरुवा नगरपालिकाले ६ दिनकालागि लकडाउन गरेको छ ।
लकडाउनका कारण बजार पसल, बैंक तथा वित्तीय संस्थासँगै नगर भित्र रहेका सबैजसो कार्यालय बन्द गरिएका छन् ।

मेहतामा देखिएको कोरोनाको संक्रमण पश्चात उनीसँगको सम्पर्कका आधारमा ८० जनाको नामावली संकलन गरिएको स्वास्थ्य शाखा इनरुवाका अधिकृत सन्तोष देवले जानकारी दिनुभयो । देवका अनुसार पहिलो चरणमा एकसाथ एक सय जनाको स्वाब संकलन गर्न लागिएको छ । रिपोर्ट पश्चात समुदायमा संक्रमणको अवस्था पत्ता लाग्ने उहाँको भनाइ छ । संक्रमण पुष्टि भएका मेहताको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV