दोलखामा मनाइँदै आएको भैरब कुमारीको जात्रा आजदेखि सुरु



प्रकाशित मिति : Aug 05, 2020

दोलखा, २० साउन । दोलखामा परम्परागत रुपमा मनाइँदै आएको भैरब कुमारीको जात्रा आजदेखि सुरु हुँदै छ । हरेक वर्ष गाईजात्राको भोलिपल्टदेखि षष्टिसम्म पाँच दिन रातभर दोलखामा बाजागाजाको तालमा भैरब र कुमारीसहितको समूह युद्धको शैलीमा नाँच्दै रोचक जात्रा मनाइने चलन छ ।

विभिन्न मनोकांक्षाका साथ ब्रतालु नारीहरुले राति पूजापाठ गरेपछि सुरु हुने गर्दछ । शिवभक्ति परिवारका समूहद्वारा भैरब र कुमारीको परिचयमा संचालन हुने यो भैरब कुमारीको जात्रा १४ जनाको समूहमा रातभर नाच्ने गरिन्छ ।

पौराणिक किम्वदन्तीका अनुसार दोलखामा ३ दिदीबहिनीलाई नागदहमा भेटेपछि तान्त्रिकले देवीको रुपमा दोलखामा ल्याएका थिए । जेठी र कान्छी त्रिपुरासुन्दरीमा बसे भने माइली भने कालिञ्चोक डाँडामा बसिन् । कान्छी चकचके स्वभाव भएकाले दिउँसो हराउने गर्थिन् । त्यही समयमा दोलखामा प्रतिदिन मानिस घटदै जान थालेपछि तान्त्रिक दाजु भाईले विचार गरी हेर्दा कान्छीले मान्छे खाने गरेको रहस्य पत्ता लगाए ।

यसलाई समाधान गर्नै पर्ने ठानी लुकामारी खेल्ने बाहाना बनाई दुवै दाजुभाई मिलेर कान्छीलाई बालकुमारीमा खाल्डो बनाई माथिबाट ढकनीले छोपी दिएछन् । खाल्डो भित्र पस्न पुगेपछि देवी डर त्रासले रोई कराई गरिन् । पछि दया लागेर उनीहरुले वर्षमा ५ दिन भैरवलाई अगाडि लगाएर मात्रबाहिर आउन शर्त राखेपछि सोही दिनदेखि ५ दिनसम्म भैरवकुमारी जात्रा निकाल्ने परम्परा सुरु भएको जनविश्वास छ ।

तर, यस वर्ष भने कोरोनाका कारण जात्रालाई निरन्तरता दिने गरी औपचारिकता मात्र पूरा गरी मनाईदै छ । रातभर दोलखा बजारका विभिन्न टोलहरुमा नचाईने यो जात्रा यस वर्ष भने शहर परिक्रमा मात्र गरिने भएको छ । जात्राको सुरु गर्नु पूर्व बालकुमारी मन्दिर र भीमेश्वर मन्दिरमा रहेको कुन्तीको मूर्तिमा बलि दिनुपर्ने परम्परा रहेपनि कोरोनाको कारण भीमेश्वर मन्दिरको मुलगेट बन्दभएको कारण कोरा पूजा गरी जात्रा सुरु गरिदै छ । भैरब र कुमारीको दर्शन तथा प्रसाद ग्रहण गर्न आउने भक्तजनहरुलाई मास्क अनिवार्य गरिएको छ । साथै, सरकारले भने अनुसार सामाजिक दूरी कायम गर्न आह्वान गरिएको भीमेश्वर नगरपालिका वडा नं. २का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिनुभयो ।

भैरब र कुमारीको दर्शन गर्ने र प्रसाद ग्रहण गर्नेहरु जिल्लाभरिबाट र जिल्लाबाहिरबाट समेत आउने गर्दछन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com