२१ श्रावण २०७७, बुधबार
  • बालबिक्रम कार्की

रौतहट, २१ साउन । रौतहटमा पनि समुदायमा बस्नेहरुमा कोरोना संक्रमण देखिन थालेको छ । मंगलबार मात्रै रौतहटमा ६ जना समुदायमा बसोबास गर्दै आइरहेकामा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्लाको राजदेवी नगरपालिकाका ४ जना, गौर नगरपालिका र चन्द्रपुर नगरपालिकाका एकजनामा संक्रमण पुष्टि भएको हो ।

गत साउन ११ गते राजदेवी नगरपालिकाका संक्रमण पुष्टि भएका वडा नम्बर ८ वडाध्यक्षको कन्ट्याक ट्रेसिङ्गमा परेका ४ जनामा संक्रमण देखिएको सो नगरपालिकाका स्वास्थ्य संयोजक सुवोध साहले जानकारी दिनुभयो । उहाँका अनुसार मंगलबार संक्रमण पुष्टि भएकाहरुमा २ नगरपालिकाका कार्यालय सहयोगी, २ जना संक्रमित वडाध्यक्षको आफन्त रहेका छन् । संक्रमित सबैको स्वास्थ्य स्थिति सामान्य रहेको र उनीहरुलाई गरुडा नगरपालिका प्रहरी विद्यालयको आइसोलेसनमा लगिएको उहाँले बताउनुभयो ।

संक्रमित वडाध्यक्षको कन्ट्याक्ट ट्रेसिङको आधारमा १७ जनाको शनिबार स्वाव संकलन गरी हेटौंडा पठाइएकोमा मंगलबार ४ जनामा संक्रमण देखिएको हो । यसैगरी मंगलबार नै गौर नगरपालिकामा बस्ने एकजना निमार्ण व्यवसायीमा पनि संक्रमण पुष्टि भएको छ । यता सर्लाही घर भइ चन्द्रपुर नगरपालिका वडा नम्बर ५ ससुरालीमा बसेर क्षयरोगको उपचार गराइरहेका एकजनामा पनि संक्रमण देखिएको छ ।

चन्द्रपुर सरकारी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। श्यामबाबु साहका अनुसार सोही अस्पतालबाट लगेर क्षयरोगको औषधि खाइरहेका थिए । ३९ वर्षीय ती पुरुषको स्वाव संकलन गरेर परीक्षणको लागि पठाउँदा पोजिटिभ देखिएको हो । उनलाई सोही अस्पतालमा कार्यरत उनकी सालीले अस्पतालबाट घरमै लगेर औषधि दिने गरेको र सालीको भने उनीसँगै आएको पीसीआर रिर्पोटमा कोरोना नेगेटिभ देखिएको अस्पताल श्रोतले जनाएको छ । हाल उनलाई चन्द्रपुर २ स्थित अस्थायी कोभिड अस्पतालमा राखिएको छ । उनको अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ । अब उनको कन्ट्याक ट्रेसिन्ङ्गको तयारी भइरहेको छ ।

यसैगरी सोमबार चन्द्रपुर २ मा एकजना पुरुषमा पनि संक्रमण देखिएको छ । बीरगञ्जबाट शनिबार आफ्नो घर आएका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थायी घरभइ हाल बीरगञ्जको एक मःम पसलमा कुकको काम गर्ने ती पुरुष शनिबार घर आएकोमा सोमबार कोरोना संक्रमण पुष्टि भएको निमित्त वडाअध्यक्ष संजीव कुश्वारले बताउनुभयो । उहाँका अनुसार बीरगञ्जमा संक्रमण बढेसँगै ती पुरुषले काम गर्ने मःम पसल बन्दभएपछि उनी टेम्पो रिर्जभ गरेर आफ्नी श्रीमती, छोरी र एकजना साथी सहित टेम्पो रिर्जभ गरेर घर फर्किएका थिए । उनी गाउँ आएपछि आफ्नो घरमा नगएर नजिकै रहेको ससुरालीमा गएर बसेका थिए । उनलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनकी सासु, जेठी सासु, श्रीमती , छोरीलाई र उनीसँगै आएका साथी गरी ५ जनालाई चन्द्रपुर ६ मा रहेको एन्फा एकेडेमीको क्वारेन्टाइनमा राखिएको छ भने उनलाई चन्द्रपुर २ मा रहेको अस्थायी कोरोना अस्पतालमा राखिएको छ ।

चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेका अनुसार ती पुरुषले बीरगञ्जमा रेल्वे विद्यालयमा स्वाव दिएर आएका थिए । चालिसेका अनुसार बीरगञ्जको ल्यावबाट प्राप्त रिर्पोट अनुसार उनको नाम मिलेको तर ठेगाना भने बीरगञ्जनै राखिएको छ । आज उनका परिवारका सदस्यको स्वाव संकलन गरेर परीक्षणको लागि हेटौडा लगिएको र त्यसको रिर्पोट आएपछि कन्ट्याक थप ट्रेसिङ्गको कार्य गरिने चालिसेले बताउनुभयो ।

यसरी समुदाय स्तरमै कोरोना संक्रमण देखिन थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् । उनीहरुले रौतहटमा पनि बीरगञ्जलगायत अन्य सहरहरुमा जस्तै संक्रमण भुसको आगो जसरी फैलिएको हुन सक्नेभन्दै परीक्षणको दायारा व्यापक रुपमा बढाउन माग गरेका छन् । नेपाल–भारत सिमानाका बन्द भएपनि स्थानीयको ओहोरदोहोर रहिरहेकाले यसले समुदायमा संक्रमण फैलिन मद्धत गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन् । कम्तिमा पनि एक घर एक परीक्षण जिल्लाका १८ वटै स्थानीय तहमा सञ्चालन गरिनुपर्ने स्थानीय युवा जितेन्द्र रौनियार बताउँछन् ।

यसरी परीक्षणको दायरा बढाएर परीक्षण गर्नाले समुदायमा छ वा छैन् भन्ने ढुक्क हुनसक्ने भन्दै उहाँले यसका लागि स्थानीय तह, जनप्रतिनिधि, प्रदेश र केन्द्र सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोडदिनुभयो । समुदायमा संक्रमणको जोखिम बढेपनि यहाँका हाटबजारहरु निर्वाध रुपमा सञ्चालन भइरहेका छन् । जहाँ सामाजिक दुरी पनि नहुने र हाटबजारमा आउने अधिकासंले मास्क पनि नलगाउनाले संक्रमण फैलिने जोखिम उच्च रहेको छ । त्यसैगरी नाप, मालपोत, जिल्ला प्रशासन कार्यालयमा हुने सेवाग्राहीको भीडपनि कोरोना सार्ने माध्यम हुने हो कि भन्ने स्थानीयमा चिन्ता रहेको छ । त्यसैले स्थानीय प्रशासनले यस्ता भीडभाड हुने स्थान र कार्यालयहरु तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् ।

रौतहट जिल्ला संक्रमितको हिसाबले सबैभन्दा बढी कोरोना संक्रमित भेटिएको जिल्ला हो । जिल्ला प्रशासनको तथ्याङ्क अनुसार मंगलबारसम्म जिल्लामा १ हजार ३ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ हजार ३२१ जना उपचार पश्चात संक्रमण मुक्त भएर घर फर्किसकेका छन् । यसअघि जिल्लामा पुष्टि भएका अधिकासं भारतबाटबाट आएर विभिन्न स्थानिय निकायको क्वारेन्टाइनमा बसेकाहरु थिए ।

यसैबीच जिल्ला प्रशासन कार्यालय रौतहटले एक विज्ञप्ती जारी गर्दै कोेरोना भाइरसको संक्रमणको जोखिम दिनानुदिन बढिरहेकाले आम सर्वसाधारणहरुले अति आवश्यक काम नपरी घर वाहिर ननिस्कन आग्रह गरेको छ । सो कार्यालयल विज्ञप्ती मार्फत १२ वर्ष मुनीका तथा ६० वर्ष माथिका व्यक्तिहरुमा सकेसम्म घर वाहिर ननिस्कन आग्रह गर्दै स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्दै नियमित रुपमा साबुन पानीले कम्तिमा बीस सेकेन्ड मिचिमिचि हातधुने, २ मिटरको सामाजिक तथा भौतिक दूरी कायम गर्ने र मास्कको प्रयोग अनिवार्य रुपमा गर्नुभई कोरोना नियन्त्रणको कार्यमा सहयोग स्थानीयलाइ भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV