२० श्रावण २०७७, मंगलवार
  • अमर काफ्ले,

इनरुवा, २० साउन । कोरोना भाइरसको जोखिम बढेको निष्कर्षसहित इनरुवा नगरक्षेत्रमा लकडाउन गरिएको छ । इनरुवाको एक स्थानीय नेता तथा व्यापारीमा संक्रमण पुष्टि भएसँगै नगरपालिकाले नगरभित्र पूर्ण लकडाउनको निर्णय गरेको छ ।

अघिल्लो दिन जिल्ला प्रहरी कार्यालयका जवानका संक्रमण पुष्टि भएको भोलिपल्ट इनरुवाका सकृय नेता तथा औषधि व्यवसायी समेत रहेका पुरुष संक्रमित पाइएका हुन् ।

नगरपालिकाले बजारमा भीड बढ्दै गएको र कोरोना संक्रमणको जोखिम थप बढेको भन्दै २६ गते सम्म लक डाउन गर्ने निर्णय गरेको छ । नगरपालिकाले लक डाउन अवधिभर बैंक तथा वित्तीय संस्था समेत बन्द रहने जनाएको छ ।

उसले आफू मातहत बाहिरका कार्यालयलाई समेत सेवा बन्द गरिदिन आग्रह गरेको छ । यसैबीच कोरोनाको जोखिमलाई मध्यनजर गर्दै सुनसरीको दुहवी नगरपालिका सहित, हरिनगर, भोक्राहा नरसिंह र कोशी गाउँपालिकाले समेत आजबाट आआफ्नो क्षेत्रमा लकडाउनको घोषणा गरेका छन् ।

रामधुनीले यसअघिनै लक डाउन गरिसकेको छ । इटहरी उपमहानगरपालिकाले समेत ५ दिन लकडाउनको घोषणा गरेको छ । अन्य पालिकाले समेत सो विषयमा छलफल अघि बढाएका छन् ।

उता जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाभर ढुवानी बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाएको छ । अत्यावश्यक बाहेकको बजार पसल अपरान्ह १२ बजेदेखि ४ बजेसम्म मात्र खोल्न पाइने प्रशासनले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV