भ्रष्टाचारको आरोप लागेपछि स्पेनका पूर्वराजा कार्लोसले देश छाडे, लागे अज्ञात स्थलतर्फ



प्रकाशित मिति : Aug 04, 2020
  • इन्दिरा चामलिङ,

ब्रसेल्स, २० साउन । स्पेनका पूर्व राजा जुआन कार्लोस साउदी–अरब रेल कम्पनीहरू र स्विस बैंकहरू सम्मिलित एक भ्रष्टाचार काण्डमा मुछिएपछि अज्ञात गन्तव्यको लागि प्रस्थान गरेका छन् ।

यूरोन्यूजका अनुसार पूर्वराजा जुआन कार्लोसले छोरा राजा फिलिप छैठौंमा आफ्नो सम्भावित प्रस्थान घोषणा गरेका थिए । गत जुनमा, स्पेनिश सर्वोच्च अदालतले साउदी उच्च–गति रेल परियोजनामा भएको भनिएको अनियमिततामा पूर्व राजा कार्लोसको पनि संलग्नता रहेको भन्दै छानबिन शुरू गरेको बताएको थियो ।

उक्त रलवेका लागि मक्का र मदीनाबीच ६.७ अर्ब यूरोमा निर्माण सम्झौता भएको थियो । मक्का र मदीना दुबै इस्लाम समुदायमा ठूलो महत्तपूर्ण ठाउँहरू भएकाले सबैको चासो रहेको छ ।

पूर्व राजा कार्लोसले सम्झौताको क्रममा साउदीका स्वर्गीय राजा अब्दुल्लाहबाट ४ मिलियन यूरो भ्रष्टाचार गरेका आरोप लागेको छ । उनले उक्त रकम आफ्नो पूर्व स्वामिनी अर्थात् ‘मित्र’ कोर्ना लार्सनको नाममा स्विस बैंक खातामा ट्रान्सफर गरेका थिए ।

स्विजरल्याण्डका, राज्य अधिवक्ता यवेस बर्टोसाले पैसा स्थानान्तरण गर्ने काम गरेका थिए । अधिवक्ता लार्सनलाई आगामी सेप्टेम्बरमा म्याड्रिडको उच्च अदालतमा बयान दिनका लागि बोलाइएको छ ।

पूर्वराजा कार्लेसले आफ्नो छोरा राजा फिलिपलाई बिदाइ गर्दै एउटा पत्रमा भनेका छन्, ‘मैले स्पेन छोड्ने निर्णय गरे ।’

देश छाडेपछि उनको हालको स्थान अज्ञात छ । तर केही स्पेनिस मिडियाले भने उनी डोमिनिकन रिपब्लिकमा बसिरहेको रिपोर्ट गरेका छन् । सन्, २०१४ मा जुआन कार्लोसले दुई वटा काण्डहरुमा अभियोग लागेपछि राजगद्दी त्यागेका थिए ।

सन् २०१२ मा स्पेनको आर्थिक संकटको बेला हात्तीहरूको शिकार गरेकोमा उनको आलोचना भएको थियो । त्यस्तै, सन् २०१३ मा उनका ज्वाईले ६ मिलियनको अपहरण तथा भ्रष्टाचार गरेको विषयमा अनुसन्धान गरिएको थियो ।

स्पेनका तानाशाह फ्रान्कोको सन् १९७५ मा मृत्युपछि स्पेनमा प्रजातन्त्र पुनस्र्थापनाका लागि राम्रो सम्मान पाएको राजसंस्थाले उक्त दुई मुद्दाहरुका कारण लोकप्रियता गुमाएको आंकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com