२० श्रावण २०७७, मंगलवार
  • बाल बिक्रम कार्की

रौतहट, २० साउन । गत साउन १७ गते रौतहट प्रहरीले भारतबाट राँगा लोड गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थवा एक ट्रक पक्राउ गरेको थियो ।जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नं.१० स्थित प्रहरी चौकी दुधिअवा अगााडि चेकजाँच गर्ने क्रममा बा ३ क २३११ नम्बरको मिनी ट्रकमा ११ वटा राँगा ल्याईरहेको अवस्थामा ट्रकलाई रोकी प्रहरीले सोधपुछ गर्दा भारतबाट ल्याएको, भेटनरी र स्थानीय निकायको सिफारिस लगायतका अन्य कागजपत्र नभएकोले प्रहरी ट्रक चालक नुवाकोट जिल्लाको सूर्यगढी गाउँपालिका वडा नम्बर ५ वस्ने ३७ वर्षीय दुर्गाप्रसाद भट्टराई र राँगा साहु सोही ठाउँमा बस्ने ५२ वर्षीय केशवराज गिरी समेतलाई नियन्त्रणमा लिई ट्रकसहित आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझायो । सो ट्रक र राँगाको अनुमानित मूल्य करिब एघार लाख रहेको छ ।साउन १६ गते जिल्ला सदरमुकाम गौरस्थित अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी गस्ती टोलीले गौर नगरपालिका वडा नम्बर ४ स्थित बसपार्कमा भारतबाट भन्सार छली चोरी पैठारी गरी टाउँकोमा बोकी नेपाल तर्फ ल्याउदै गरेको कपडासहित जिल्लाकै राजपुर नगरपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय समाउदिनलाई नियन्त्रणमा लियो । प्रहरीले उनलाई बरामद गरिएको करिब ५८ हजार ५ सय मूल्य बराबरको कपडा सहित गौर भन्सार कार्यालयमा बुझायो । सोही दिन प्रहरी चौकी जयनगरको संयुक्त प्रहरी गस्ती टोलीले जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ८ लक्ष्मीनियाबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी भैंसी, पाडा र पाडीहरु नेपालतर्फ ल्याउदै गरेको वेवारिसे अवस्थामा बरामद गरेको थियो ।यता साउन १५ गते जिल्लाको परोहा नगरपालिका वडा नम्बर ८ मोतीपुर नरकटियामा भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको १६ बोरा युरिया मल पनि प्रहरीले बरामद गरेको थियो । सोही दिन जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ३ को नेपाल भारतको सीमा दशगंजा नजिक नेपालबाट भारततर्फ ४ सय कार्टुन सौफी रक्सी ट्याक्टरमा लोड गरेर लाँदै गरेको अवस्थामा ट्याक्टर चालकलाई पक्राउ ग¥यो । प्रहरीले चेकजाँचको क्रममा  ना.४ त. ८५३१ नम्बरको ट्याक्टरमा सो परिमाणको विल विजक नभएकाले ट्याक्टर चालक जिल्लाकै यमुनामाई गाँउपालिका वडा नम्बर ४ बस्ने ४० वर्षीय राजदेव साहलाई पक्राउ गरी ट्याक्टर र रक्सी सहित गौर भन्सार कार्यालय बुझाएको छ ।यी त केही प्रतिनिधि घटनाहरु मात्र भए । पछिल्लो समय जिल्लाका विभिन्न नाकाहरुबाट अवैध तस्करीहरु बढिरहेको छ । कोरोनाको कहरले गर्दा नेपाल भारत सिमानाका बन्द भएपनि दुबै देश बीच हुने तस्करी भने बन्द भएको छैन् । कोरोना कहरको बीचमा जिल्लाका विभिन्न स्थानहरुबाट तस्करी भइरहेको पाइएको छ । जिल्लाको मुख्य नाका गौर भन्सारमा कडाइ भएपनि जिल्लाका लक्ष्मीपुर बेलविछुवा, बंकुल, नरकटिया , मत्सरी, औरैया, महादेव पट्टी, बन्जारा लगायतका स्थानहरुमा नेपाल–भारत तस्करी बढिरहेको छ ।जिल्लाको ३२ किलोमिटर क्षेत्र भारतसँग सिमाना जोडिएको छ । यहीँ खुल्ला सिमानाको फाइदा उठाउँदै तस्करहरुले कोरोनाको कहरको बीचमा पनि तस्करीलाई निरन्तरता दिइरहेका छन् । यसरी तस्करहरुले तस्करीको लागि नेपाल–भारत ओहोरदोहोर गर्दा समुदायमा पनि कोरोना फैलने त्रास स्थानीयहरुमा बढेको छ ।भारतको बिहार राज्यमा कोरोनाको स्थिति भयावह भइरहेको अवस्थामा त्यो राज्यका विभिन्न क्षेत्रबाट रौहतटमा गरिने तस्करीले जिल्लामा तस्करीको सामानसँगै कोरोना पनि फैलने जोखिम उच्च रहेको छ । यसअघि सशस्त्र प्रहरीले सीमामा प्रति सय मिटरमा एकजना राखेर सीमामा गस्ती गर्ने गरेकोमा अहिले सुरक्षाको कारण प्रत्येक ५ सय मिटरमा १५ जनाको समुहमा गस्ती गर्ने गरेकाले पनि तस्करीले तस्कर गर्ने मौका पाइरहेका छन् ।रौतहट प्रहरीले सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कडा निगरानी र कार्यहरु गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक रविरान खड्काले जानकारी दिनुभयो । उहाँले साउन यता रौतहट प्रहरीले रु ५० लाख ४५ हजार ३८४ रुपैयाँ बराबरको तस्करीको सामानहरु बरामद गरी भन्सार बुझाइसकेको बताउँदै तस्कर र तस्करी विरुद्ध रौतहट प्रहरीले कडा कदम चालिरहेको बताउनुभयो ।‘हामीले तस्करी नियन्त्रणको लागि सादा पोशाकका प्रहरी परिचालन गर्नुका साथै आफ्नो गस्तीलाई पनि सिमा क्षेत्रमा बढाएका छौँ’ उहाँले भन्नुभयो, ‘त्यसकै फलस्वरुप हामीले विभिन्न स्थानमा सफलता पाइरहेका छौँ । यसलाई अझ कडाइको साथमा हामी कार्यन्यवन गछौँ ।’ यसरी समुदायमा कोरोना फैलने गरी हुने तस्करी कार्यलाई रोक्न प्रहरी अझ बढी संवेदनशील र सक्रिय भएर लाग्नुपर्ने स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV