गाइजात्रा विशेष : कलाकारले भने, ‘नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्छन्’



प्रकाशित मिति : Aug 04, 2020

काठमाडौं, २० साउन । काठमाडौंमा आयोजित गाइजात्रा विशेषमा बोल्दै हाँस्यव्यङ्ग्य कलाकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरुप्रति कडा व्यङ्ग्य गरेका छन् । उनीहरुले नेताहरुले तीन सय ६५ दिन नै नक्कली गाइजात्रा देखाइरहेको भन्दै व्यङ्ग्य गरे ।

कलाकारहरुले जनतालाई सचेत नागरिकका रुपमा जागरुक भई नेताहरुलाई गल्ती गर्न नदिन समेत आग्रह गरे । लोकप्रिय व्यङ्ग्यकार शैलेन्द्र सिंखडाले नेपालका नेता र जनताहरुको प्रकार छुट्याउँदै कडा व्यङ्ग्य गरे ।

उनले भने, ‘नेताहरु कोटे, नोटे, भोटे र चोटे छन् । नेपाली जनता अनुशासित र अनुबन्धित दुई प्रकारका छन् ।’ मन्त्रीको गाडीमा ब्रिफकेश किन हालिन्छ ? भनेर नेताहरुले पत्ता लगाउनुपर्ने बताए । नेताहरुले ३६५ दिन नै गाइजात्रा मनाएको समेत उल्लेख गरे ।

आफूले ४० वर्ष गाइजात्रा मनाइसकेको र त्यस क्रममा नेपालको राजनीतिक तथा सामाजिक जीवनको अनेकन घटनाक्रम देखेको समेत बताए । सिंखडाले व्यंग्य गर्दै भने, ‘नेताहरु ३६५ दिन नै गाइजात्रा झिक्नुहुन्छ तर त्यो नक्कली गाइजात्रा हो । आजको दिन कलाकारहरुले गरेको गाइजात्रा मात्र सत्य हो ।’

त्यस्तै, अर्का हाँस्य कलाकार दमन रुपाखेतीले प्रधानमन्त्री केपी शर्मा ओली आफैमा गाइजात्रा भएको टिप्पणी गरे । उनले भने, ‘केपी’बा आफैमा गाइजात्रा हुनुहुन्छ तर, उहाँका धुपौरेबाट सावधान हुनुपर्छ ।’

औषधोपचारको पैसा नेताले खाएको र जनताले उपचार नपाएको भन्दै दमनले व्यङ्ग्य गरे । देश कोरोना महामारीसँगै बाढीपहिरोको प्रकोपमा रहँदा सरकार उदासीन रहेको आरोप लगाए ।

उनले भने, ‘औषधीउपचार खर्लप्पै नेताले खाए, जनताले पाएनन् ।’ प्रधानमन्त्री केपी शर्मा शर्मा ओलीले बेसार पानी खान भनेकोतर्फ व्यङ्ग्य गर्दै गीत समेत बजाए ।

कार्यक्रममा सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले सरकार र प्रतिपक्षी नेतालाई कवितार्फत व्यंग्य गरेको थिए । उनले देशमा सबै मिलेर लुटिरहेको भन्दै व्यङ्ग्य कविता प्रस्तुत गरेका थिए ।

हाँस्यकलाकार सुबोध गौतमले राजनीतिक दलका नेता तथा सामाजिक अभियन्ताहरुको क्यारिकेचर गरेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र शाह, कम्युनिस्ट नेता मोहन बैद्य किरणको क्यारिकेचर गरेका थिए ।

हाँस्यकलाकार पल्पसा डंगोल ‘चम्सुरी’ ले २०७७ सालको गाइजात्राको शुभकामना दिदै गएको वर्षको जस्तो अहिलेको गाइजात्रामा व्यस्त हुन नपाएको बताइन् । कोरोना भाइरसको महामारीका कारण गाइजात्रा फरक किसिमको भएका भन्दै भाइरसको संक्रमणबाट जोगिन सबैलाई आग्रह गरिन् ।

हाँस्य कलाकार दिनेश काफ्लेले गाइजात्रा विशेषमा राजनीतिक, सामाजिक घटना र मिडिया प्रति व्यंग्य गरे । हाँस्य कलाकार श्रीकृष्ण सिंखडाले भ्रष्टाचारीलाई टुँडिखेलमा राखेर नंग्याउनुपर्ने बताए । उनले नेताहरुप्रति व्यङ्ग्य गर्दै भ्रष्टाचारविरुद्ध कलाकारले आ–आफ्नो ढंगबाट सक्रिय हुनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com