२० श्रावण २०७७, मंगलवार
  • अमर काफ्ले,

इनरुवा, २० साउन । सुनसरीमा ढुवानी बाहेकका सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालया बसेको डीसीसी एमसीको बैठकले भीडभाड बढेसंगै कोरोना संक्रमणको जोखिम थपिएको निष्कर्ष निकालेको छ ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकले मालबाहक सवारी साधन बाहेक भाडाका साधनहरु सिटी सफारी, रिक्सा, टेम्पो, म्याजिक, माइक्रो लगायत सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो ।

बैठकले अत्यावश्यक बाहेकका बजार, पसल मध्यान्ह १२ देखि अपरान्ह ४ बजेसम्म मात्र खोल्न पाइने निर्णय गरेको छ । साप्ताहिक हटिया भने अर्को निर्णय नभएसम्मका लागि बन्द कायम गरिएको छ ।

त्यस्तै बैठकले कोरोना भाइरसको बढ्दो जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहहरुमा एम्बुलेन्स र शव वाहन तयारी अवस्थामा राख्ने, सीमामा थप कडाई गर्ने निर्णय समेत गरेको छ ।

प्रजिअ पोखरेलले दिएका जानकारी अनुसार संक्रमण देखिएका स्थानहरुमा आवश्यकता हेरी पीसीआर परीक्षणको दायरा बढाउँदै लगिने छ । प्रशासनमा भएको छलफलले स्थानीय तहले आफ्नो क्षेत्रमा लकडाउन गर्नुपर्ने अवस्था आए स्वयं निर्णय गर्न सकिने समेत जनाएको छ ।

यसैबीच इनरुवाको मूख्य बजारमा रहेको औषधि व्यवसायीमा कोरोना संक्रमण पुष्टि भएपछि इनरुवा नगरपालिकाको कार्यालयले नगरभित्र लकडाउनको तयारी गरेको छ । केही बेरमा बस्ने बैठकले लक डाउनको विषयमा निर्णय सार्वजनिक गर्ने नगर प्रमुख राजन मेहताले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV