सत्तारुढ नेकपाको पट्यारलाग्दो छलफल यात्रा : दुबै पक्ष एक अर्कालाई गलाउने दाऊमा



प्रकाशित मिति : Aug 03, 2020

काठमाडौं, १९ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विवाद सुल्झिनुको सट्टा बढ्दै गएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागबाट सुरु भएको विवाद बैठक आह्वानको विषयले थप चर्काएको छ । सहमतिका लागि पटक–पटक अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच छलफल भएपछि ठोस निष्कर्ष निस्कन सकेको छैन ।

ओली र दाहाल–नेपाल समूह आ–आफ्नो रणनीति बनाउन सक्रिय बनेका छन् । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पाँच दिनसम्म संवादहिनताको अवस्था आयो । उनीहरु आ–आफ्नो अडानमा कायम रहेपछि छलफलको औचित्य नभएको भन्दै दुबै अध्यक्षबीच कुनै छलफल हुन सकेन । आइतबार पाँच दिनपछि संवादहीनता तोडेर दुई अध्यक्ष छलफलमा त जुटे तर, पूर्ववत् अडान र नयाँ–नयाँ प्रस्तावले नेकपा विवाद जटिल बनेको छ । दाहाल–नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले एक पद छाड्नुपर्ने अडान राख्दै आएका छन् भने ओलीले कुनै पद नछाड्ने बरु पार्टीको एकता महाधिवेशनमै जानुपर्ने अडान राखेका छन् ।

आइतबारबाट सुरु भएको दुई अध्यक्षबीचको छलफल स्थायी कमिटी बैठक कि सचिवालय बैठक बोलाउने भन्ने विवाद सुरु भएको छ । अहिले अध्यक्ष ओली सचिवालय बैठक बोलाउनुपर्ने अडानमा छन् । तर, अध्यक्ष दाहाल स्थायी कमिटी अलपत्र छोड्न नहुने पक्षमा रहेका छन् । ओलीलाई पछिल्लो समय सचिवालय सदस्य वामदेव गौतम र रामबहादुर थापाको साथ छ । त्यसैले पनि बहुमत आफ्नो पक्षमा देखेका ओलीले सचिवालय बैठक बोलाउन चासो दिएको नेकपा नेताहरु बताउँछन् । ९ जना सचिवालय सदस्यमा उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा जसको पक्षमा उभिन्छन्, त्यही पक्ष बहुमतमा रहन्छ । गौतम र थापा अहिले ओलीको विकल्प नभएको बताउँन थालेका छन् ।

सचिवालयमा को कता ?
ओली पक्ष दाहाल–नेपाल पक्ष
केपी शर्मा ओली पुष्पकमल दाहाल
ईश्वर पोखरेल माधव नेपाल
रामबहादुर थापा झलनाथ खनाल
विष्णु पौडेल नारायणकाजी श्रेष्ठ

उपाध्यक्ष गौतमले ६ बुँदे प्रस्ताव प्रस्तुत गर्दै आफू ओलीकै पक्षमा रहेको सन्देश दिन खोजेको नेकपा भित्र चर्चा छ । उता, माओवादी पृष्ठभूमिका थापा ओलीलाई तत्काल हटाउन नहुने वकालत गर्दै आएका छन् । यी दुई सदस्य जोड्दा ओली पक्षमा ५ जना रहन्छन् भने दाहाल–नेपाल पक्षमा ४ सदस्य रहन्छ । यो समिकरणले ओली पक्ष बलियो रहन्छ । त्यसैले ओली सचिवालय बैठक बोलाएर विवाद निरुपण गर्ने पक्षमा उभिएका छन् । तर, दाहाल–नेपाल भने स्थायी कमिटी बोलाएर विवाद समाधान गर्नुपर्ने अडानमा छन् ।

स्थायी कमिटीमा दाहाल–नेपाल बहुमतमा रहेको छ । पटक–पटक भएका छलफलमा पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी वा महाधिवेशन कहाँबाट विवाद समाधान खोज्ने विषयले अहिले नेकपा विवाद चर्किदै गएको छ । यसबाहेक ओलीको अर्को रणनीति ‘अर्ली’ महाधिवेशन वा नियमित महाधिवेशनबाट शक्ति बाँडफाँडको पक्षमा छन् ।

विवादलाई महाधिवेशनतिर मोड्न सके तत्काल पार्टी अध्यक्ष वा प्रधानमन्त्री दुवै पद छाड्न नपर्ने ओलीको बुझाइ छ । ओली रणनीति बुझेका दाहाल–नेपाल समूहले ‘अर्ली’ महाधिवेशनको प्रस्ताव अस्वीकार गरेका छन् । यसबाहेक ओलीमाथि दबाब बनाउने रणनीतिअनुसार दाहाल नेपाल समूह केन्द्रीय कमिटी बैठकको पक्षमा छ । यो समूहका एक सय ५२ जना सदस्यले केन्द्रीय कमिटीको बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा पत्रसमेत दर्ता गराएका छन् । तर, केन्द्रीय कमिटी माग गर्ने गुटका सदस्य मात्र भएको भन्दै ओलीले जवाफ दिने गरेको वालुवाटार स्रोतले बताउने गरेको छ ।

केन्द्रीय सदस्यको एक चौथाई नेताले माग गरेमा एक महिनाभित्र बैठक बोलाउनपर्ने पार्टी विधानमा छ । पछिल्लो समय बैठक आह्वानमै रुमलिएको नेकपालाई यथास्थितिमा राखेर दाहाल–नेपाललाई गलाउने रणनीतिमा ओली छन् भने राजीनामाको अडान राखेर ओलीलाई गलाउने दाउ दाहाल–नेपालको रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com