१९ श्रावण २०७७, सोमबार

काठमाडौं, १९ साउन । कोरोना संक्रमणको जोखिम बढिरहेको अवस्थामा आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले यही विषयलाई लिएर केही निर्णय गर्ने भएको छ ।

नियमित बैठक भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या थपिएसँगै अब कसरी अघि बढ्ने भन्नेबारे विषयमा गम्भीर छलफल हुने एक मन्त्रीले न्यूज २४ लाई बताए । बैठकमा कोरोना सम्बन्धी महत्वपूर्ण विषयमा छलफल गरी निर्णयमा पुग्न सकिने पनि उनको भनाइ छ ।

यसका लागि सीसीएसीको बैठकमा पनि आवश्यक छलफल भएको र मन्त्रिपरिषद्मा थप छलफल गरेर टुंगोमा पुग्ने तयारी भइरहेको बताएको छ ।
सरकार केही समय अघि लकडाउन खोलिसकेको अवस्थामा फेरि लकडाउन गर्ने या अन्य मोडल अपनाउने भन्नेबारे बहस हुँदै आएको छ । यसअघि लकडाउन खोल्दैमा असन्तुष्टि जनाएका केही विज्ञहरुले पुनः लकडाउन गरिनुपर्ने धारणा राख्दै आएका छन् ।

लकडाउन तत्काल नलगाए पनि सवारीमा जोरविजोर लागू गर्ने तयारी पनि भएको छ भने काठमाडौंका होटल तथा रेष्टुरेन्टले मापदण्डको उल्लंघन गरेको भन्दै पुनः बन्द गर्ने तयारी पनि सरकारले थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV